प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुँदै

काठमाडौं । जेठ १३, प्रतिनिधिसभाको आज (सोमबार) बस्ने बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तरको कार्यक्रम पनि रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने छन् ।
यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
साथै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।