यी स्थानमा वर्षाको सम्भावना, उच्च हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । जेठ १३, देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागका एक/दुई स्थानमा पनि यस्तै प्रकारको वर्षा हुन सक्ने पूर्वानुमान छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ।
महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ।
त्यसैगरी, आज राति पनि मधेश प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका एक/दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना राति पनि कायम रहनेछ। राति मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेकाले मौसममा यो बदली र वर्षाको अवस्था आएको महाशाखाले उल्लेख गरेको छ।