युवा संघको नेतृत्व चयनका लागि मतदान सुरु

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। अध्यक्षका प्रत्यासी क्षितिज थेबे र अर्का अध्यक्षका प्रत्यासी सुमन पुरीले पहिले मतदान गरी निर्वाचनको सुरुवात गरेका छन्।

बिहान १० बजेदेखि पोखरा सभागृहमा भइरहेको मतदानका लागि ४२ वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरिएको छ र प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ।

महाधिवेशनको पूर्वनिर्धारित तालिकाअनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्नुपर्ने भए तापनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा लामो समय व्यतीत भएको थियो। विभिन्न पदहरू, विशेषगरी अध्यक्ष, उपाध्यक्ष र महासचिवजस्ता महत्वपूर्ण पदहरूमा आकांक्षीहरू धेरै हुँदा र विभिन्न गुटहरूले आ-आफ्नो दाबी नछोड्दा सर्वसम्मतिको प्रयासले सार्थकता पाउन सकेन।

नेतृत्वका लागि विभिन्न पक्षहरूबीच चलेको लामो रस्साकस्सी र भागबन्डामा सहमति जुट्न नसकेपछि अन्ततः निर्वाचन नै एकमात्र विकल्प बन्न पुग्यो।

यो निर्वाचनमा मुख्यतया दुई समूह स्पष्ट रूपमा देखिएका छन्, जसले आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्:

क्षितिज थेबेको नेतृत्वको प्यानल:

अध्यक्ष: क्षितिज थेबे

उपाध्यक्ष: महाराज गुरुङ र विनय शाह

महासचिव: महेश चौलागाईं

सुमन पुरीको नेतृत्वको प्यानल:

अध्यक्ष: सुमन पुरी

उपाध्यक्ष: प्रकाश गौतम र पर्वत भण्डारी

महासचिव: कुबेर अधिकारी

यो निर्वाचनले नेकपा (एमाले) को महत्वपूर्ण भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आगामी नेतृत्वको टुंगो लगाउनेछ। देशभरबाट आएका प्रतिनिधिहरूले आफ्नो मतमार्फत नयाँ कार्यसमिति चयन गर्नेछन्।

प्रकाशित : 27 May, 2025

प्रतिक्रिया दिनुहोस्