सहसचिव भट्टराईसहितका ५ मोबाइल डिभाइसको रिपोर्ट आयो

काठमाडौं । जेठ २१, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जाने युवाबाट असुली भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शंकास्पद व्यक्तिहरूका १६ वटा मोबाइल फोन जाँचका लागि पठाएको छ ।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहितका व्यक्तिहरुका मोबाइल आयोगले जाँचका लागि पठाएको थियो । आयोग स्रोतका अनुसार, भट्टराईबाट मात्र तीन वटा मोबाइल बरामद भएको थियो ।
त्योमध्ये एउटा उनको निजी र अर्को कार्यालय प्रमुखले प्रयोग गर्ने सरकारी मोबाइल हो । उनले नै प्रयोग गरिरहेको अवस्थामा तेस्रो मोबाइल समेत बरामद भएको थियो ।
अधिकारीहरुका अनुसार, सहसचिव भट्टराईको मोबाइल जाँचबाट यो प्रकरणमा थप महत्त्वपूर्ण प्रमाणहरू हात पर्नसक्ने आशंका गरिएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले पनि केही डिभाइसको रिपोर्ट आइसकेको र केही आउन बाँकी रहेको बताए ।
आयोगले ७ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा छापा मारेको थियो । भिजिट भिसामा जाने युवाबाट असुली भइरहेको सूचनाका आधारमा आयोगका अधिकारीहरुले लामो निगरानीपछि छापा हानेका थिए । त्यसक्रममा केही शंकास्पद विवरणहरू फेला परेपछि सहसचिव भट्टराईलाई समेत नियन्त्रणमा लिइएको थियो ।