अग्नि सापकोटाविरुद्धको फैसलापछि माओवादी केन्द्रको बैठक

काठमाडौं । जेठ २२, सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध १२ वर्षदेखि विचाराधीन मुद्दामा महत्वपूर्ण फैसला गरेसँगै नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा जारी बैठकमा सर्वोच्चको पछिल्लो आदेश र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन्।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्धको मुद्दामा उत्प्रेषणको आदेश जारी गरेको थियो। यो आदेशले काभ्रेका अर्जुन लामाको अपहरण तथा हत्या प्रकरणमा प्रहरीलाई अनुसन्धान गर्न बाटो खुला गरेको छ। अब यस प्रकरणमा सापकोटासहित पूर्वऊर्जामन्त्री एवं काभ्रे-१ का माओवादी सांसद सूर्यमान दोङमाथि पनि अनुसन्धान अघि बढ्नेछ।
माओवादी द्वन्द्वकालमा २०६२ साल वैशाख १६ गते काभ्रेको श्रीकृष्ण माध्यमिक विद्यालयबाट अर्जुन लामालाई अपहरण गरिएको थियो। सोही वर्ष असारको दोस्रो सातातिर बुढाखानी गाविसको चारकिल्ला भन्ने स्थानमा उनको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको थियो।
शान्ति प्रक्रिया सुरु भएपछि अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले माओवादी नेता सापकोटा, दोङलगायत अन्यविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले प्रारम्भमा जाहेरी लिन अस्वीकार गरेपछि उनले २०६९ मंसिर ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।
त्यसअघि, २०६४ सालमा सर्वोच्च अदालतले जाहेरी दर्ता गर्न आदेश दिएको थियो, जसअनुसार जिल्ला प्रहरी कार्यालय, काभ्रेमा जाहेरी दर्ता भई अनुसन्धानका लागि पक्राउ पुर्जीसमेत जारी भएको थियो। तर, २०६५ साउन २६ गते तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले उक्त मुद्दालाई द्वन्द्वकालीन विषय भएको भन्दै तामेलीमा राख्ने निर्णय गरेको थियो। सर्वोच्चको हालैको आदेशले उक्त सरकारी निर्णयलाई निष्क्रिय पार्दै अनुसन्धानको प्रक्रिया पुनः सुरु गर्न मार्गप्रशस्त गरेको छ।