देशभरका स्थानीय तहले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं । असार १०, देशभरका ७५३ स्थानीय तहले आज (मंगलबार) आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् ।
संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) सम्बन्धित गाउँ वा नगर सभामा पेस गरी असार मसान्तसम्ममा अनिवार्य रूपमा पारित गरिसक्नुपर्छ । यद्यपि, भरतपुर महानगरपालिका लगायत केही स्थानीय तहले भने तोकिएको समयभन्दा अगाडि नै आफ्नो बजेट सार्वजनिक गरिसकेका छन्।
स्थानीय तहको बजेट प्रस्तुतिअघि संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारहरूले असार १ गते आ-आफ्नो बजेट ल्याइसकेका छन् । आजै संघीय सरकारको बजेट पनि प्रतिनिधिसभाबाट पारित गर्ने तयारी भइरहेको छ।