अर्थले पूर्णसरकारी स्वामित्वका चार उद्योग निजीकरण गर्न ‘डीडीए’ गर्दै

काठमाडौं । असार १३, अर्थ मन्त्रालयले पूर्णसरकारी स्वामित्वका चार उद्योग निजीकरण गर्न ती सबैको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्ने भएको छ ।
अर्थले नेपाल मेटल कम्पनी लिमिटेड, नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालि, बुटवल धागो कारखाना लिमिटेड र जनकपुर चुरोट कारखाना लिमिटेडको डीडीए गर्न परामर्शदाता छनोटका लागि आशयपत्र माग गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।
अर्थले योग्य परामर्शदाता कम्पनीबाट ती चार उद्योगको वित्तीय, प्राविधिक, भौतिक तथा कानुनी पक्ष अध्ययन गरेर डीडीए गर्न आशयपत्र माग गरेको जनाएको छ ।
अर्थका अनुसार प्रतिस्पर्धाका आधारमा परामर्शदाता छनोट गरिने छ । डीडीए गर्दा उद्योगका चल–अचल सम्पत्ति र ब्रान्डको भिन्नाभिन्नै मूल्यांकन गरिने छ ।
त्यसैगरी बैंक ऋण, ब्याज र भुक्तानी अवस्था, कर्मचारी दायित्व, कर, रोयल्टी लगायत चार उद्योगका सम्पूर्ण दायित्वको विवरण पनि मूल्यांकन गरिने अर्थले जनाएको छ ।
आशयपत्र बुझाउने परामर्शदाता कम्पनीले काम थालेको ८ साताभित्र अन्तिम प्रतिवेदन पेस गर्नुपर्ने छ । प्रारम्भिक प्रतिवेदनपछि अर्थ मन्त्रालयले कुल रकमको २० प्रतिशत र अन्तिम प्रतिवेदनपछि ८० प्रतिशत भुक्तानी दिने जनाएको छ ।