तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात

सहयात्रा टिभी

काठमाडौं । असार १९, तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्‍याएको हो ।

उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले बताए ।

उनका अनुसार उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो । त्यसलाई चीनको बाटो हुँदै नेपाल ल्याइएको हो । अहिले तातोपानी भन्सार नाकामा जाँचपासको प्रक्रिया चलिरहेको भुसालले बताए ।

उनले तातोपानी भन्सार नाका हुँदै कम्पनीले पहिलोपटक हेलिकप्टर ल्याएको बताए । ‘पहिले एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौं ल्याएका थियौं । तातोपानी भन्सार नाका हुँदै हेलिकप्टर ल्याएको पहिलोपटक हो,’ उनले भने ।

उक्त हेलिकप्टर जाँचपास पछि माउन्टेन फ्लाइटमा प्रयोग गर्ने भुसालले बताए । उनका अनुसार माउन्टेन कम्पनी प्रालिसँग यो नयाँ हेलिकप्टरसहित तीनवटा हेलिकप्टर हुनेछन् ।

तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र प्रसाद चुडालले पनि आफूले पहिलोपटक तातोपानी नाकाबाट हेलिकप्टर आयात भएको थाहा पाएको बताए ।

चीनबाट नेपाल भित्रिने प्रमुख दुईवटा नाका छन् । एउटा तातोपानी र अर्को टिमुरे । टिमुरेको बाटो साँघुरो र अप्ठेरो भएकाले हेलिकप्टर ल्याउनलाई तातोपानी नाका रोजेको कम्पनीले जनाएको छ ।

 

प्रकाशित : 3 July, 2025

प्रतिक्रिया दिनुहोस्