भदौ महिनाका लागि बैंकहरूले घटाए ब्याजदर, कसको कति ?

सहयात्रा टिभी

काठमाडौं । भदौ १, वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो महिना, भदौका लागि पनि निक्षेपको ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका छन् । सार्वजनिक गरिएको नयाँ ब्याजदर सूची अनुसार २० वटा वाणिज्य बैंकहरूले साउनको तुलनामा औसत ब्याजदरमा थप कटौती गरेका हुन् ।

पछिल्लो तथ्याङ्क अनुसार, व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर साउनको तुलनामा भदौमा ०.११ प्रतिशत विन्दुले घटेको छ । साउनमा ५.६८ प्रतिशत रहेको यस्तो ब्याजदर घटेर भदौका लागि ५.५७ प्रतिशतमा सीमित भएको छ ।

भदौ महिनाका लागि ८ वटा बैंकले ब्याजदर घटाउँदा ११ बैंकले भने स्थिर राखेका छन् । ब्याजदर घटाउनेमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई बैंक रहेका छन् । उता, सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एकमात्र प्रभु बैंकले भने अरूको विपरीत सामान्य रूपमा ब्याजदर बढाएको छ ।

बैंकहरूले सामान्यतया छोटो अवधिको मुद्दती निक्षेपमा कम र लामो अवधिका लागि बढी ब्याज दिने गर्दछन्, र यो अधिकतम ब्याजदर लामो अवधिको निक्षेपका लागि तोकिएको हो । मुद्दती निक्षेपको ब्याजदर घट्दा त्यसको प्रत्यक्ष असर बचत र कर्जाको ब्याजदरमा पनि पर्ने गर्दछ, जसले गर्दा ऋणको लागत घट्न सहयोग पुग्छ ।

ब्याजदर घट्नुको मुख्य कारण बैंकिङ प्रणालीमा अधिक तरलता हुनु हो । गत असार महिनामा सरकारको पुँजीगत खर्च बढेकाले बैंकहरूमा निक्षेप थुप्रिएको तर कर्जाको मागमा भने सुस्तता कायमै रहेकाले बैंकहरू ब्याजदर घटाउन बाध्य भएका हुन् । यसअघि नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत ४.५ प्रतिशतको नीतिगत दर कायम गर्दै ब्याजदर घटाउन प्रोत्साहन गरेको थियो ।

प्रकाशित : 17 August, 2025

प्रतिक्रिया दिनुहोस्