नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु

सहयात्रा टिभी

काठमाडौं । भदौ २९, नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार सरकारले आजैदेखि भुक्तानी दिने काम थालिसकेको छ ।

उता, राजस्व संकलनको काम समेत सुचारु भएको छ । धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका छन् । पूर्णक्षति भएका केही आन्तरिक राजस्व कार्यालयबाहेक अन्य कार्यालय समेत सञ्चालनमा आइसकेको प्रवक्ता पाण्डेयले जानकारी दिए ।

अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड गरेका थिए । चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा भने आंशिक क्षति भएको छ ।

सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब(भत्ता पाउने सबै कर्मचारीले दशैं अगाडि नै तलब(भत्ता पाउने भएका छन् ।

सरकारको ढुकुटीमा अनिवार्य दायित्व भुक्तानी गर्न आवश्यक पर्याप्त रकम रहेको समेत उनले जानकारी दिए । सरकारको अनिवार्य दायित्व अन्तर्गत तलव भत्ता र सामाजिक सुरक्षाको भुक्तानी समेत हुनेछ । अन्य दायित्वको हकमा भने सरकारले प्राथमिकताका आधारमा भुक्तानी गर्ने उनी बताउँछन् ।

काठमाडौंमा अर्थ मन्त्रालय करिब सुरक्षित अवस्थामा छ । मुख्य भवन अगाडि रहेको सानो भवन जलाइएको छ । उपत्यका भित्रका आन्तरिक राजस्व विभाग, भन्सार विभाग र अन्य आन्तरिक कार्यालय समेत सुरक्षित रहँदा अर्थले आफ्नो कामलाई छिट्टै सुचारु गर्न सकेको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सरकारले १ खर्ब ४४ अर्ब ५८ करोड राजस्व उठाइसकेको छ । अन्य आम्दानीसहित शनिबारसम्म सरकारको ढुकुटीमा १ खर्ब ४६ अर्ब ९२ करोड संकलन भएको छ ।

यसै अवधिसम्म सरकारको खर्च १ खर्ब २० अर्ब ७८ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्षको पहिलो दुई महिना सकिँदासम्म सरकारको ढुकुटी बचतमै देखिन्छ । तर, दशैं भत्तासहित अनिवार्य दायित्वको सबैभन्दा ठूलो हिस्सा भने भदौ मसान्तसम्म खर्च हुनेछ ।

अघिल्लो सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यसमध्ये राजस्व संकलनबाट मात्र १४ खर्ब ८० अर्ब राजस्व संकलनको लक्ष्य राखेको थियो ।

 

प्रकाशित : 14 September, 2025

प्रतिक्रिया दिनुहोस्