फूलपातीबाट सर्यो ‘अभिमन्यु’, अब दशैँमा तीन फिल्मको मात्रै प्रतिस्पर्धा

काठमाडौं । असोज ५, फिल्म ‘अभिमन्यु’ असोज १३ गते अर्थात् फूलपातीबाट प्रदर्शनमा नआउने भएको छ ।
यस फिल्मको निर्माता कम्पनीले सेभेन सिज सिनेमाले अन्तिम समयमा आएर आइतबार प्रदर्शन मिति हेरफेर गरेको हो । कम्पनीले आइतबार विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो । यो फिल्मको नयाँ प्रदर्शन मिति असोज २४ लाई तय गरिएको उक्त विज्ञप्तिमा उल्लेख छ । कम्पनीले प्रदर्शन मितिको हेरफेरको कारण मध्ये एक अन्य फिल्मको व्यापारमा असर पुग्ने देखाएको छ ।
‘असोज १३ का दिन अन्य धेरै चलचित्रहरु प्रदर्शनमा आउने भएको पर्याप्त शो उपलब्ध गराउन सिनेमाघरहरुलाई कठिन हुने साथै यसले अन्य नेपाली चलचित्रहरुलाई समेत असर पार्ने अवस्था देखियो,’ कम्पनीको विज्ञप्तिमा लेखिएको छ । फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ असोज १३ लाई प्रदर्शन मिति तोकेका छन् । अब यो दशैँमा यी तीन फिल्म मात्रै प्रदर्शनमा आउने भएका छन् ।
‘अभिमन्यु’को प्रदर्शन मिति पहिला भदौ २७ लाई तोकिएको थियो । जेन–जी आन्दोलनले यो प्रदर्शन मिति प्रभावित भएपछि फूलपातीलाई प्रदर्शन मिति तोकिएको थियो । तेस्रो पटक प्रदर्शन मिति तोक्दा यो असोज २४ मा पुगेको थियो ।