हवाई भाडा घटाउने वायुसेवा कम्पनीहरुको तयारी, सरकारले दियो यस्तो निर्देशन

सहयात्रा टिभी

काठमाडौं । असोज १०, सरकारले दसैँ, तिहार तथा छठजस्ता चाडपर्वको अवसरमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडपर्वको मौका छोपेर टिकटको मूल्य बढाउने प्रवृत्तिलाई निरुत्साहित गर्न सबै सेवा प्रदायकलाई सचेत गराएको हो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कानुनले तोकेको अधिकतम मूल्यभन्दा कम दरमा टिकट बिक्री गरी यात्रुलाई राहत दिन आग्रह गरिएको छ। उनले भने, “हामीले वायुसेवा कम्पनीहरूलाई अधिकतम मूल्यमा टिकट नबेच्न र त्योभन्दा केही कम मूल्यमा बिक्री गर्न भनेका छौँ, सोहीअनुसार कम्पनीहरूले काम गरिरहेका छन्।”

प्राधिकरणको आग्रहपछि केही वायुसेवा कम्पनीले सोहीअनुसार तयारी थालेका छन्। उदाहरणका लागि, बुद्ध एयरले धनगढीका लागि १२ हजार रुपैयाँभन्दा माथिको टिकट बिक्री नगर्ने आन्तरिक निर्णय गरेको छ।

चाडपर्वमा बढ्ने यात्रुको चापलाई ध्यानमा राख्दै प्राधिकरणले अतिरिक्त उडानको व्यवस्था पनि मिलाएको छ। सामान्यतया दैनिक १० हजार यात्रुले आन्तरिक उडान गर्ने गरेकोमा चाडपर्वको समयमा यो संख्या बढेर १८ हजारसम्म पुग्ने गर्छ। यही चापलाई व्यवस्थापन गर्न र यात्रुको यात्रा सहज बनाउन अतिरिक्त उडान सञ्चालन गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित : 26 September, 2025

प्रतिक्रिया दिनुहोस्