गायिकाको आत्मदाह प्रयास, बाबुल गिरी सोधपुछका लागि प्रहरी नियन्त्रणमा

काठमाडौं । कात्तिक २,गायिका नितु पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेपछि गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) लाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो पौडेलले गिरीकै स्टुडियोमा आफ्नो शरीरमा आगो लगाएकी थिइन् ।
सोही घटनामा सामान्य घाइते भएका गायक गिरीलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारपछि शनिबार नै डिस्चार्ज गरिएको थियो । अस्पतालबाट डिस्चार्ज हुनासाथ प्रहरीले घटनाको अनुसन्धानका लागि सोधपुछ गर्न भन्दै उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार गिरीलाई परिसरकै हिरासतमा राखिएको छ । ‘घटना कसरी र के कारणले भयो भन्ने बुझ्नका लागि उहाँलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ,’ एसपी भट्टराईले भने ।
प्रहरीले हालसम्म गिरीविरुद्ध कुनै उजुरी वा जाहेरी नपरेको जनाएको छ । ‘उहाँविरुद्ध कुनै जाहेरी नआएकाले तत्काल म्याद थपेर मुद्दा चलाउने अवस्था छैन,’ भट्टराईले स्पष्ट पारे । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।