गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ८, आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएकी गायिका नितु पौडेलको दाहसंस्कार गरिएको छ । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । यसैबीच, पौडेलको परिवारले घटनालाई ‘आत्महत्या नभई हत्या’ भएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दिएपछि घटना थप रहस्यमय बनेको छ ।

गत कात्तिक १ गते गायिका पौडेलले गायक बाबुल गिरीको स्टुडियोमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् । गम्भीर घाइते भएकी उनको एक सातादेखि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शुक्रबार बिहान साढे ८ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

पौडेलको निधनलगत्तै उनका दाइ गणेश पौडेलले प्रहरीमा कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका हुन् । जाहेरीमा उनले आफ्नी बहिनी र गायक गिरी विगत ८–९ वर्षदेखि प्रेम सम्बन्धमा रहेको र बन्द कोठाभित्र गिरीले नै बहिनीलाई जलाएर हत्या गरेको दाबी गरेका छन् ।

यता, गायक बाबुल गिरीले भने पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि आफूले निभाउने प्रयास गरेको र सो क्रममा आफू पनि सामान्य घाइते भएको बयान प्रहरीलाई दिएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको र पौडेलले आत्मदाहको प्रयास गर्नुको कारण खुल्न बाँकी रहेको जनाएको छ । पोस्टमार्टमपश्चात् परिवारले शनिबार पौडेलको पार्थिव शरीरको अन्त्येष्टि गरेको हो ।

प्रकाशित : 25 October, 2025

प्रतिक्रिया दिनुहोस्