महाधिवेशनको अन्योलता चिर्ने कांग्रेसको प्रयास, केन्द्रीय समितिअघि पदाधिकारी बैठक

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १५, नेपाली कांग्रेसको आगामी महाधिवेशनको मितिलाई लिएर जारी अन्योलता अन्त्य गर्ने प्रयासस्वरूप पार्टीको पदाधिकारी बैठक आज बस्दै छ। आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि शीर्ष नेताहरूबीच साझा धारणा बनाउने उद्देश्यले यो बैठक बोलाइएको हो।

यसअघि शुक्रबारका लागि तय भएको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा स्थगित भएको थियो। पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको तिथि-मितिका विषयमा नेताहरूबीच सहमति जुटाउन आवश्यक रहेको भन्दै बैठक स्थगित गरेका थिए।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक बोलाइएको र छलफल सुरु हुन लागेको पुष्टि गरे। शुक्रबार स्थगित भएको केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ। पदाधिकारी बैठकमा जुट्ने सहमतिले केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न र महाधिवेशनको अनिश्चितता हटाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रकाशित : 1 November, 2025

प्रतिक्रिया दिनुहोस्