अभिनेत्री सामन्था र निर्देशक राज निदिमोरूले गरे विवाह

सहयात्रा टिभी

काठमाडौं । मंसिर १५, दक्षिण भारतीय तथा बलिउड अभिनेत्री सामन्था रूथ प्रभु र चर्चित निर्देशक तथा निर्माता राज निदिमोरू विवाह बन्धनमा बाँधिएका छन्। लामो समयदेखिको प्रेम चर्चा र अड्कलबाजीलाई चिर्दै उनीहरूले विवाह गरेका हुन्।

भारतीय संचारमाध्यम हिन्तुस्तान टाइम्सका अनुसार यो जोडीले सोमबार बिहान एक मन्दिरमा लगनगाँठो कसेका हुन्। निकै गोप्य र निजी राखिएको उक्त विवाह समारोहमा दुवै पक्षका गरी जम्मा ३० जना पाहुनाहरूको मात्र उपस्थिति रहेको जनाइएको छ।

आइतबार रातिदेखि नै उनीहरू विवाह गर्न लागेको हल्ला सामाजिक सञ्जालमा चल्न थालेको थियो। यसैबीच, राजकी पूर्वपत्नी श्यामली डेले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक सांकेतिक भनाइ पोस्ट गरेपछि धेरैको ध्यान तानिएको थियो। रिपोर्टका अनुसार श्यामली र राजको सन् २०२२ मा सम्बन्धविच्छेद भएको थियो।

सन् २०२४ को सुरूवातदेखि नै सामन्था र राज नजिकिएको खबर बाहिरिन थालेको थियो। पछिल्लो एक वर्षयता सामन्थाले राजसँगका तस्बिरहरू सामाजिक सञ्जालमा निर्धक्क भएर पोस्ट गर्न थालेपछि उनीहरूको सम्बन्ध गहिरो हुँदै गएको अनुमान गरिएको थियो।

सामन्थाको यसअघि अभिनेता नागा चैतन्यसँग विवाह भएको थियो। विवाहको चार वर्षपछि उनीहरूले सम्बन्धविच्छेद गरेका थिए। नागा चैतन्यले केही समयअघि मात्र अभिनेत्री शोभिता धुलिपालासाग विवाह गरिसकेका छन्। सामन्था र राजको व्यावसायिक सहकार्य ‘द फेमिली म्यान २’ बाट सुरू भएको थियो। अमेजन प्राइमको यो सुपरहिट सिरिजका राज लेखक तथा निर्देशक हुन्। यसको दोस्रो सिजनमा सामन्थाले मुख्य भूमिका निर्वाह गरेकी थिइन्।

 

प्रकाशित : 1 December, 2025

प्रतिक्रिया दिनुहोस्