भारतमा सौर्य ऊर्जाको फड्कोसँगै बढ्दै छ फोहोरको जोखिम

सहयात्रा टिभी

काठमाडौं । पुस ११, भारतले पछिल्लो एक दशकमा सौर्य ऊर्जा उत्पादनमा ठूलो फड्को मार्दै विश्वकै तेस्रो ठूलो उत्पादक राष्ट्र बनेको छ । कोइलामाथिको निर्भरता घटाउन र जलवायु परिवर्तनसँग लड्न सौर्य ऊर्जालाई प्राथमिकता दिइएको भए पनि यसबाट निस्कने फोहोर व्यवस्थापनको स्पष्ट योजना नहुँदा यो ‘स्वच्छ ऊर्जा’ अभियानमाथि नै प्रश्नचिह्न खडा भएको छ ।

सौर्य प्यानलहरूको औसत आयु करिब २५ वर्षको हुन्छ । प्रयोगको अवधि सकिएपछि यी प्यानलहरू फोहोरमा परिणत हुन्छन् । प्यानलमा सिसा, आल्मुनियम र पोलिमरका साथै सिसा (लेड) र क्याडमियम जस्ता विषाक्त धातुहरू पनि हुन्छन् । यस्ता पदार्थलाई सुरक्षित तवरले व्यवस्थापन नगरिए यसले माटो र पानी प्रदूषित गर्ने गम्भीर जोखिम निम्त्याउँछ । भारतसँग हाल सौर्य फोहोर रिसाइकिलिङका लागि न त पर्याप्त बजेट छ, न त प्रविधि नै ।

काउन्सिल अन इनर्जी, इन्भायरन्मेन्ट एन्ड वाटर (सीईईडब्लु) को नयाँ अध्ययनअनुसार सन् २०४७ सम्ममा भारतमा १ करोड १० लाख टनभन्दा बढी सौर्य फोहोर जम्मा हुने अनुमान गरिएको छ । हाल वार्षिक रूपमा करिब १ लाख टन फोहोर निस्किरहेको भए पनि सन् २०१० को दशकमा जडान गरिएका ठूला परियोजनाहरूको आयु सकिन थालेपछि आगामी दशकमा फोहोरको बाढी नै आउने विज्ञहरूले चेतावनी दिएका छन् ।

भारत सरकारले सन् २०२२ मा सौर्य प्यानललाई विद्युतीय फोहोर (ई–वेस्ट) नियमअन्तर्गत राखेर उत्पादकहरूलाई नै यसको संकलन र रिसाइकिलिङको जिम्मेवारी दिएको थियो । तर, यसको कार्यान्वयन फितलो हुँदा धेरैजसो पुराना प्यानलहरू कवाडमा वा अनधिकृत ठाउँमा फालिने गरेका छन् ।

विज्ञहरूका अनुसार अहिले नै उचित रिसाइकिलिङ प्रणालीको विकास नगर्ने हो भने भविष्यमा सौर्य प्यानलहरूको ‘चिहान’ बन्ने खतरा छ । यद्यपि, प्रभावकारी रिसाइकिलिङ गर्न सकेमा पुराना प्यानलबाट तामा, चाँदी र सिलिकन जस्ता बहुमूल्य धातुहरू पुनः प्रयोग गर्न सकिने अवसर पनि उत्तिकै रहेको अध्ययनले देखाएको छ । आजको स्वच्छ ऊर्जा भोलिको फोहोरको समस्या नबनोस् भन्दै विज्ञहरूले तत्काल कडा नियमन र पूर्वाधारमा लगानी गर्न सुझाव दिएका छन् ।

प्रकाशित : 26 December, 2025

प्रतिक्रिया दिनुहोस्