सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

सहयात्रा टिभी

काठमाडौं । पुस २८, सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो । चाँदीको भाउ प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २०५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ४ हजार ९९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

किन बढिरहेको छ भाउ ?

अन्तर्राष्ट्रिय बजारमा सोमबार कारोबारका क्रममा सुनको भाउ प्रतिऔंस ४ हजार ५५० अमेरिकी डलर नाघेको छ । त्यस्तै चाँदी प्रतिऔंस ८३ डलर नाघेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य बताउँछन् ।

‘जहिले पनि अन्तर्राष्ट्रिय तनाव वा द्वन्द्व बढ्दा सुन र चाँदीको मूल्य पनि बढ्ने गर्छ, अहिले प्रमुख यहीं कारण हो’ शाक्यले भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हर्कतका कारण विभिन्न मुलुकलाई यतिबेला तनाव बढेको छ । हालै भेनेजुएला कब्जा गरेका ट्रम्पले इरान, ग्रिनल्यान्ड लगायत मुलुकलाई समेत धम्की दिँदै आएका छन् ।

त्यस्तै रुससँग तेल खरिद गर्दै आएका भारतसहित विभिन्न मुलुकलाई ५०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका छन् । यसले अन्तर्राष्ट्रिय द्वन्द्व बढ्ने डरले विभिन्न केन्द्रीय बैंक र लगानीकर्ता समेत सुन र चाँदीमा लगानी बढाइरहेका छन् । जसले मागसँगै मूल्य बढिरहेको व्यवसायी बताउँछन् । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा मूल्य बढ्दा नेपाली बजारमा त्यसको सिधा असर पर्दछ ।

प्रकाशित : 12 January, 2026

प्रतिक्रिया दिनुहोस्