लामो समयपछि यम बरालका तीन गीत सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । पुस २९, गायक यम बरालको स्वर रहेका तीनवटा गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच ‘यो साँझ फेरि’, ‘जुन र सुनको’ र ‘टेन्डर माया’ सार्वजनिक गरिएको हो । गीत कलाकार मदन कृष्ण श्रेष्ठ, दीपक जंगम, दीपाश्री निरौला, ऋषी धमलालगायतले गीत र भिडियो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीतमध्ये ‘यो साँझ फेरि’मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ । गीतको भिडियोमा केशवराज भट्टको निर्देशन, अमन बडुको छायांकन, राकेश दाहालको सम्पादनजुना कार्की र गायक बरालको अभिनय छ ।

दोस्रो गीत ‘जुन र सुनको’मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत रहेको छ । गीतको भिडियोलाई गीतकार बरालले नै निर्देशन गरेका हुन् । गायक बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय रहेको छ । भिडियोमा विक्रम डिसीको छायांकन र विकास धमलाको सम्पादन छ ।

तेस्रो गीत ‘टेन्डर माया’मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत छ । नितीन चन्दले निर्देशन गरेको भिडियोमा सन्दिपा गौतम, नवीन महतरा क्षेत्री, रशिला श्रेष्ठ र गायक बराल स्वयंको अभिनय छ । नमित चन्द ठकुरी एसोसियट निर्देशक रहेको भिडियोमा मनोज केसीको छायांकन र शुकुन तिमल्सिनाको सम्पादन छ । गायक बरालले लामो समयपछि आफू मुलधारको संगीतमा फर्किएको बताएका छन् । ३५ वर्षदेखि निरन्तर संगीतमा सक्रिय गायक बरालले आफू फण्डाभन्दा साधनामा रम्न चाहने गायक भएको बताए ।

प्रकाशित : 13 January, 2026

प्रतिक्रिया दिनुहोस्