‘कुमारी’ को ट्रेलर सार्वजनिक
सहयात्रा टिभी
काठमाडौं । माघ ११, माघ २३ गते रिलिज हुने नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका पाश्र्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को विशेष प्रस्तुति रहेको थियो । साथै लोकप्रिय ब्यान्ड ‘इस्त्रीज’ र ‘त्रिजा प्रदान एन्ड द टुकुचा’ले पनि दर्शकलाई साङ्गीतिक प्रस्तुतिमार्फत झुमाएका थिए । साङ्गीतिक कन्सर्ट र चलचित्र प्रचारको संयोजनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
यही चलचित्रबाट डेब्यु गरेका मुख्य कलाकारहरू अविषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै आफूहरूलाई दर्शकले दिएको स्वागतले अत्यन्तै पुलकित बनाएको बताए । दर्शकको उत्साह र तालीले उनीहरू भावुक देखिएका थिए ।
सार्वजनिक ट्रेलरले एक संवेदनशील र रोमाञ्चक प्रेमकथाको झलक प्रस्तुत गर्छ। प्रेमलाई केन्द्रमा राख्दै पारिवारिक सम्बन्ध, रोमान्स र मनोवैज्ञानिक अन्तद्र्वन्द्वहरूलाई ट्रेलरले प्रभावशाली ढङ्गले उजागर गरेको छ । दुई पात्रबीचको प्रेम, सङ्घर्ष र जीवनका भावनात्मक मोडहरू दृश्यहरू मार्फत गहिरो रूपमा व्यक्त गरिएको छ ।
ट्रेलरमा देखिने पुरुष पात्र (अबिषेक खड्का) संवेदनशील, रिसाहा र परिस्थितिले थिचिएको युवक देखिन्छ । संवादभन्दा बढी हाउभाउ, आँखाको भाव र मौन अभिनयमार्फत प्रेमभित्रको असहायपनलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । ऊ प्रेममा पूर्ण समर्पित छ, तर समाज र परिस्थितिसँग निरन्तर सङ्घर्ष गरिरहेको सङ्केत ट्रेलरले दिन्छ ।
त्यसैगरी महिला पात्र (आकृति राजभण्डारी) केवल प्रेमिका मात्र नभई आत्मसम्मान, मौन विद्रोह र भावनात्मक साहसको प्रतीकका रूपमा उभिएकी देखिन्छिन् । उनको आँखामा देखिने डर, मौनतामा लुकेको पीडा र निर्णयका क्षणमा देखिने कठोरताले पात्रलाई अझ बलियो बनाएको छ। ट्रेलरले चलचित्र ‘हेर्नु मात्र होइन, महसुस गर्नुपर्ने कथा’ भएको अनुभूति गराउँछ ।
कलाकारहरूको अभिनय, सङ्गीत, सिनेमाटोग्राफी र संवाद ट्रेलरमै उत्कृष्ट देखिएका छन् । दृश्य संयोजनले कथा र भावनालाई आकर्षक तरिकाले प्रस्तुत गर्दै दर्शकमा उत्साह र आशा जगाएको छ । शाहिल खानले सम्पादन गरेको यो ट्रेलर युट्युबको ट्रेन्डिङमा पुगिसकेको छ ।
‘आइ एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका निर्देशक दिनेश राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका लागि चिनिन्छन् ।


