सुनको मूल्यमा भारी गिरावट : दुई दिनमै प्रतितोला १३ हजार ७ सयले घट्यो
सहयात्रा टिभी
काठमाडौं । माघ २३, नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आउने क्रम आज शुक्रबार पनि जारी रहेको छ । हिजो बिहीबार एकैदिन ९ हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ आज थप ४ हजार २ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ निर्धारण गरिएको छ । हिजो बिहीबार सुन प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसरी हेर्दा पछिल्लो दुई दिनमै सुनको मूल्य तोलामा १३ हजार ७ सय रुपैयाँले घटिसकेको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । आज चाँदी प्रतितोलामा २ सय ७० रुपैयाँले घटेर ४ हजार ७ सय १० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको भाउमा उल्लेख्य कमी आएको व्यवसायीहरूले बताएका छन् । लगातारको गिरावटसँगै उपभोक्ताहरूमा भने केही राहत महसुस भएको छ ।


