वायु प्रदूषण घटाउन विश्व बैंकले नेपाललाई दियो ७ अर्ब ७ करोड ऋण
सहयात्रा टिभी
काठमाडौं । फागुन २७, विश्व बैंकले नेपालको वायु गुणस्तर सुधार तथा प्रदूषण न्यूनीकरणका लागि ७ अर्ब ७ करोड २० लाख रुपैयाँ बराबरको ऋण सहायता अनुमोदन दिएको छ। बैंकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

विशेषगरी वायु प्रदूषणको उच्च जोखिममा रहेका काठमाडौं उपत्यका र तराईका विभिन्न क्षेत्रलाई लक्षित गर्दै ‘नेपाल क्लिन एयर एन्ड प्रोस्पेरिटी प्रोजेक्ट’ सञ्चालन गर्न यो रकम खर्च गरिनेछ। यस परियोजनाअन्तर्गत वायु प्रदूषणको मुख्य कारक मानिने करिब ४०० वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूलाई स्तरोन्नति गरी धुँवारहित बनाउने लक्ष्य राखिएको छ।
विश्व बैंकका अनुसार यस वातावरणीय परियोजनाको कार्यान्वयन नेपाल सरकारका दुईवटा मन्त्रालय र तिनका विभागहरूले संयुक्त रूपमा गर्नेछन्। जसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमार्फत कार्यक्रमहरू सञ्चालन हुने तय भएको छ।
यस परियोजनाले नेपालको औद्योगिक क्षेत्रलाई वातावरणमैत्री बनाउनुका साथै नागरिकको जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।



