खुल्यो सानिगाड हाइड्रोको आईपीओ
सहयात्रा टिभी
काठमाडौं । चैत्र ८, सानिगाड हाइड्रो लिमिटेडले आइतबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन अनुमति पाएकोमा यस चरणमा २८ लाख ५० हजार कित्ता स्थानीयका लागि र पाँच लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ ।
स्थानीयतर्फ बझाङको बुंगल नगरपालिकाका वडा नं. १, २ र ४ का अतिप्रभावित तथा अन्य वडाका बासिन्दाले आवेदन दिन सक्नेछन् । न्यूनतम् १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
स्थानीयका लागि आईपीओ छिटोमा चैत २२ गतेसम्म खुला रहनेछ भने ढिलोमा वैशाख ७ गतेसम्म लम्बिन सक्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


