बलात्कार आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २१, चर्चित हाँस्य कलाकार सागर लम्साल ‘बले’ लाई प्रहरीले पक्राउ गरेको छ । एक युवतीले लगाएको बलात्कारको आरोपबारे अनुसन्धान गर्न उनलाई काठमाडौंको बूढानीलकण्ठबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।

अमेरिकामा अध्ययनरत एक युवतीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एक वर्षअघि लम्सालले आफूलाई बलात्कार गरेको खुलासा गरेकी थिइन् । सोही आरोप सार्वजनिक भएलगत्तै प्रहरीले उनलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको हो ।

बलात्कार जस्तो जघन्य अपराधको आरोप लागेपछि लम्साललाई छायाङ्कन भइरहेको चलचित्र ‘पाँच पाण्डव’ बाट निष्कासन गरिएको छ । फिल्मको निर्माण कम्पनी कालारानी फिल्मस् प्रालिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा उनलाई फिल्मबाट हटाइएको स्पष्ट पारेको हो ।

विज्ञप्तिमा भनिएको छ, “जघन्य अपराधमा स्वयं पीडित युवतीले नै आरोप लगाइसकेपछि हाम्रो निर्माण ब्यानरले आपतकालीन बैठक बसी आरोपित सागर लम्साललाई फिल्मबाट निष्कासन गर्ने निर्णय गरेको छ ।”

निर्माण पक्षका अनुसार उक्त फिल्ममा लम्सालको ९० प्रतिशत छायाङ्कन सकिइसकेको थियो । यद्यपि, अब उनी फिल्मको हिस्सेदार नरहने र उनले अभिनय गरेका कुनै पनि दृश्य फिल्ममा समावेश नगर्ने निर्माण कम्पनीले जनाएको छ ।

प्रहरीले अहिले उक्त घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 4 April, 2026

प्रतिक्रिया दिनुहोस्