गुल्मीको फोहोर बिक्दा पानीको स्रोत शुद्ध बन्दै
सहयात्रा टिभी
काठमाडौँ । बैशाख १०, गुल्मीको सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो ।

सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी १० रुपैयाँ, रेडबुलका बोतल प्रतिकेजी ८० रुपैयाँ, एचडिपी प्लास्टिक प्रतिकेजी आठ रुपैयाँ, पानीका बोतल प्रतिकेजी १० रुपैयाँ, फलाम प्रतिकेजी १५ रुपैयाँ, सिसा प्रतिकेजी एक रुपैयाँ तथा टिन प्रतिकेजी पाँच रुपैयाँमा बिक्री हुन थालेको हो ।
नगर विकास तथा वातावरण संरक्षण संस्थाले रेसुङ्गा नगरपालिकाका–१, २, ७, ८, ९ र ४ को केही भागका एक हजार ७ सय ६५ घरबाट फोहोर सङ्कलन गर्छ । दुई वटा ट्याक्टर, दुईजना चालक र दुइजना सहचालक राखेको समितिले शनिबारबाहेक साताको छ दिन बजारबाट फोहोर उठाएर फोहोर फाल्ने ठाउँ ओख्रेनीमा फाल्ने गर्दछ ।
कुहिने र नकुहिने गरी भान्साको फोहोर दैनिक दुई टन सङ्कलन हुने समितिले जनाएको छ । फोहोर छुट्याउन बैंकले तीन जना मजदुर राखेको छ । उनीहरूलाई फोहोरको मात्राअनुसार बैंकले भुक्तानी गर्छ । एक महिनामा गुल्मीबाट चार ट्रक फोहोर बिक्रीबाट समितिले २० हजार रुपैयाँ आम्दानी गरेको अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए ।
फोहोर बिक्री हुन थालेपछि पानीको मुहान सफा हुने भएको छ । फोहोर बिक्री नहुँदा ओख्रेनीमै जलाउने गरिएको थियो । जसले गर्दा ओख्रेनी, उदिनढुङ्गा जिप पार्क, बेदुखर्कलगायतका गाउँ सधैँ दुर्गन्धित हुने गर्दथ्यो । तम्घासदेखि ओख्रेनी हुँदै बेदुखर्क, भनपानीलगायतका गाउँ जाँदा बाटोसम्मै दुर्गन्ध फैलन्थ्यो । अहिले त्यो दुर्गन्ध हटेको स्थानीय मीना खत्रीले बताइन् ।
