पहिरोका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
सहयात्रा टिभी
काठमाडौँ । वैशाख २०, केही दिनयता भइरहेको वर्षासँगै देशभर विभिन्न स्थानमा पहिरो खस्दा मुख्य राजमार्ग तथा सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार आज बिहान खसेको पहिरोले ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठानको सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड, मकवानपुरको भीमफेदी गाउँपालिका–८ भरेङ डाँडास्थित कान्तिलोकपथ र लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएका छन् ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोसी–२ कोदारीस्थित अरनिको राजमार्ग वैशाख १६ गते खसेको पहिरोका कारण अझै पनि पूर्ण रूपमा अवरुद्ध रहेको र यातायात सञ्चालन हुन सकेको छैन । यद्यपि, केही सडकखण्डहरू भने क्रमशः एकतर्फी रूपमा खुलाउन सुरु गरिएको छ । वैशाख १२ गतेको बाढीका कारण अवरुद्ध भएको भोजपुर नगरपालिका–५ बोखिमको मध्यपहाडी लोकमार्ग र वैशाख १६ गतेको पहिरोले अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड हाल एकतर्फी रूपमा सञ्चालनमा आएका प्रहरीले जनाएको छ ।
वर्षातको समयमा बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले अवरुद्ध भएका तथा एकतर्फी सञ्चालनमा रहेका राजमार्गहरूमा यात्रा गर्दा चालक तथा यात्रीहरूले विशेष सावधानी अपनाउन र सुरक्षित तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
