यस वर्षको मनसुन सुरुवाती चरणमा कमजोर हुने प्रक्षेपण, धान खेतीमा चिन्ता

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २०, यस वर्षको मनसुन सुरुवाती चरणमा कमजोर रहने र देशका धेरैजसो भू-भागमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं मौसमविद् डा. विनोद पोखरेलका अनुसार आगामी जेठ १५ देखि साउन १५ सम्मको समय सुख्खा रहने देखिएको छ । वैशाख महिनाभरि पानी परिरहने सम्भावना भए तापनि धान खेतीको मुख्य समयमा पानीको अभाव हुनसक्ने प्रक्षेपणले किसान र कृषि विज्ञहरूमा चिन्ता बढाएको छ ।

विशेषगरी आकाशे पानीमा निर्भर रहने नेपालको धान खेतीमा यसले गम्भीर असर पार्न सक्ने देखिएको छ । डा. पोखरेलका अनुसार मनसुनको पहिलो आधा समय सुख्खा रहेमा यस वर्ष ३० देखि ४० प्रतिशत मात्र रोपाइँ हुन सक्ने र फलस्वरूप उत्पादनमा भारी गिरावट आउन सक्ने सम्भावना छ ।

यो वर्ष मनसुन कमजोर हुनुमा दुईवटा मुख्य विश्वव्यापी मौसमी प्रणालीहरू जिम्मेवार देखिएका छन् । पहिलो, प्रशान्त महासागरको तापक्रम औसतभन्दा बढी हुने ‘एल निनो’ को प्रभाव हो, जसले दक्षिण एसियाली मनसुनलाई कमजोर बनाउँछ । हाल यो अवस्था तटस्थ बन्दै गए तापनि यसको बाँकी प्रभाव र वायुमण्डलीय फेरबदलले गर्दा जुन र जुलाईमा बादल निर्माण हुने प्रक्रिया सुस्त हुन सक्ने अनुमान गरिएको छ । दोस्रो कारण हिन्द महासागरको तापक्रम (इन्डियन ओसन डाइपोल– आईओडी) को अवस्था हो, जुन यस वर्ष मनसुनका लागि त्यति अनुकूल नदेखिएको छ । यसले गर्दा जलवाष्पयुक्त हावा नेपालसम्म आइपुग्न अवरोध सिर्जना हुन सक्ने र मनसुनी हावाको दिशा तथा गतिमा विचलन आउन सक्ने मौसमविद्हरूको विश्लेषण छ ।

यद्यपि, नेपालको आधिकारिक मौसमी प्रक्षेपण गर्ने निकाय जल तथा मौसम विज्ञान विभागले भने यसपालिको मनसुनबारे अझै एकिनका साथ भन्न नसकिने जनाएको छ । विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार एल निनोको अवस्था भए तापनि नेपालको मनसुनलाई प्रभाव पार्ने अन्य धेरै तत्वहरू हुने भएकाले अहिले नै ठोकुवा गर्न सकिने अवस्था छैन । विभागले यसै साताको अन्त्यतिर आधिकारिक मनसुन प्रक्षेपण सार्वजनिक गर्ने तयारी गरेको छ ।

पोहोरसाल पनि मनसुनको समयमा सुक्खा र खडेरीको सामना गर्नुपरेकोले यस वर्ष पनि सावधानी अपनाउनु पर्ने विज्ञहरूको सुझाव छ । विस्तृत र आधिकारिक जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको सिजनल फोरकास्टलाई नै पर्खनुपर्ने स्थिति छ ।

प्रकाशित : 3 May, 2026

प्रतिक्रिया दिनुहोस्