फोहोरमैला व्यवस्थापनमा तीन नगरपालिकाको संयुक्त प्रयास : ‘चक्रीय अर्थव्यवस्था’ प्रारुप-२०८३ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । जेठ १३ , फोहोरमैला व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउने उद्देश्यका साथ उपत्यकाका तीन नगरपालिकाले संयुक्त पहल सुरु गरेका छन्। शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र चाँगुनारायण नगरपालिकाले संयुक्त रूपमा ‘फोहोरमैला व्यवस्थापन तथा चक्रीय अर्थव्यवस्थामा संयुक्त समन्वय व्यवस्थापन सम्बन्धी प्रारुप-२०८३’ तयार गरी कार्यान्वयनमा ल्याएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच शंखरापुरका नगर प्रमुख रमेश नापित, कागेश्वरी मनोहराका नगर प्रमुख उपेन्द्र कार्की र चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले उक्त प्रारुपमा हस्ताक्षर गरेका हुन्।

के हो प्रारुप ?
यो प्रारुप ‘चक्रीय अर्थतन्त्र’ को अवधारणामा आधारित छ। यसअन्तर्गत फोहोरलाई स्रोत (घर वा कार्यालय) मै वर्गीकरण गर्ने, नगरपालिकाले साझेदार संस्थाहरूमार्फत समन्वयात्मक रूपमा संकलन गर्ने र अधिकतम वस्तुको पुन: प्रयोग तथा पुन: चक्रण (रिसाइकल) गर्ने लक्ष्य राखिएको छ। यसको मुख्य उद्देश्य ल्यान्डफिल साइटमा जाने फोहोरको मात्रालाई न्यूनीकरण गर्नु हो। साथै, डिजिटल डाटाबेसको प्रयोगमार्फत फोहोर व्यवस्थापनको अनुगमन र व्यवस्थापनलाई थप चुस्त बनाउने योजना पनि अघि सारिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले तीन नगरपालिकाको यो सहकार्य अन्य स्थानीय तहका लागि उदाहरणीय रहेको बताए। उनले फोहोर व्यवस्थापन शहरी पूर्वाधारको महत्वपूर्ण पाटो भएकाले संघ र प्रदेश सरकारबाट आवश्यक नीतिगत र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) नेपालका पोर्टफोलियो म्यानेजर प्रज्ञाजन यलम्बर राईले यो सहकार्यलाई फोहोर व्यवस्थापनको क्षेत्रमा एक ‘माइलस्टोन’ को संज्ञा दिँदै आगामी दिनमा यसले थप सहयोग र लगानी आकर्षित गर्ने विश्वास व्यक्त गरे।

यस प्रारुपको तयारी तथा कार्यान्वयनका लागि नर्वे सरकार र युएनडीपी द्वारा सञ्चालित ‘कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (Renewable Energy for Resilient Agri Food Systems)’ परियोजनाले प्राविधिक सहयोग प्रदान गरेको छ।

कार्यक्रममा नगर प्रमुखहरूले यस पहलले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हक सुनिश्चित हुने र रोजगारीका अवसरहरू समेत सिर्जना हुने अपेक्षा व्यक्त गरे। शंखरापुर नगरपालिकाकी सूचना अधिकृत शुभद्रा पुडासैनीले उक्त प्रारुपका मुख्य विशेषताहरू प्रस्तुत गरेकी थिइन् भने ‘ब्लु वेष्ट टु भ्यालु’ का सह-संस्थापक नविन विकास महर्जनले धन्यवाद मन्तव्य राखेका थिए।

यस सहकार्यले काठमाडौँ उपत्यकाको बढ्दो फोहोर व्यवस्थापनको समस्या समाधानमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

प्रकाशित : 27 May, 2026

प्रतिक्रिया दिनुहोस्