स्विडेनसँगको हारपछि ट्युनिसियाका प्रशिक्षक लामुची बर्खास्त

सहयात्रा टिभी

काठमाडौँ । असार २, विश्वकप २०२६ मा निराशाजनक सुरुआत गरेपछि ट्युनिसियाले मुख्य प्रशिक्षक साब्री लामुचीलाई केवल एक खेलपछि नै बर्खास्त गरेको छ। ५४ वर्षीय पूर्व फ्रान्सेली अन्तर्राष्ट्रिय खेलाडी लामुचीलाई मेक्सिकोको मोन्टेरेमा आइतबार राति भएको समूह ‘एफ’ को पहिलो खेलमा स्विडेनसँग ५–१ को भारी पराजय भोगेको भोलिपल्ट पदमुक्त गरिएको हो।

ट्युनिसियाली फुटबल अधिकारीहरूले राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्धेर केबाएरलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेका छन्। सन् २०१९ देखि २०२२ सम्म राष्ट्रिय टोली सम्हालेका केबाएर गत वर्षदेखि प्राविधिक निर्देशकको भूमिकामा थिए। उनले अब आइतबार हुने जापानविरुद्धको दोस्रो समूह खेलमा टोलीको प्रशिक्षण सम्हाल्नेछन्।

५६ वर्षीय केबाएरले सन् २०२१ को अरब कपमा ट्युनिसियालाई फाइनलसम्म पुर्‍याएका थिए, जहाँ टोली अल्जेरियासँग पराजित भएको थियो। त्यसको एक वर्षपछि अफ्रिका कप अफ नेसन्समा भने टोली क्वाटरफाइनलबाट बाहिरिएको थियो। बर्खास्त हुनुअघि लामुचीले टोलीको हारको मुख्य कारण आफ्नै गल्तीहरू रहेको स्वीकार गरेका थिए। उनले भने, “यो कठिन र पीडादायी हार हो। प्रतियोगिताको सुरुआत यति खराब नतिजाबाट हुनु निकै गाह्रो अवस्था हो। हामीले अत्यधिक गल्ती गर्‍यौं।”

लामुसीमाथि स्विडेनसँगको खेलअघि नै दबाब बढिसकेको थियो। विश्वकपअघिको अन्तिम मैत्रीपूर्ण खेलमा ट्युनिसिया बेल्जियमसँग ५–० ले पराजित भएको थियो। साथै, आधिकारिक टोली सदस्य नभएका आफ्ना छोराको प्रशिक्षण शिविरमा उपस्थितिलाई लिएर पनि उनले सञ्चारमाध्यममा आलोचना खेप्नुपरेको थियो।

ट्युनिसियाले अब समूह चरणका बाँकी खेलमा जापान र नेदरल्यान्ड्सको सामना गर्नेछ। नेदरल्यान्ड्स र जापानबीचको पहिलो खेल डलासमा २–२ को रोमाञ्चक बराबरीमा सकिएको थियो। लामुचीले टोलीलाई सुधारको आवश्यकता रहेको उल्लेख गर्दै भनेका थिए, “हामीसँग आत्मसम्मान छ। अब हामीले प्रतिक्रिया दिनुपर्छ र अझ राम्रो प्रदर्शन गर्नुपर्छ।” ट्युनिसिया र फ्रान्स दुवै देशको नागरिकता भएका लामुचीले खेल जीवनमा ओसेर, मोनाको, पार्मा, इन्टर मिलान र मार्से जस्ता क्लबबाट खेलेका थिए।

प्रशिक्षकका रूपमा उनको पहिलो ठूलो जिम्मेवारी आइभरी कोस्टको राष्ट्रिय टोली थियो। उनले टोलीलाई सन् २०१४ को विश्वकपमा पुर्‍याएका थिए। प्रतियोगिताको पहिलो खेलमा जापानलाई हराए पनि अन्तिम खेलमा ग्रीससँग अन्तिम समयमा पराजित भएपछि टोली समूह चरणबाटै बाहिरिएको थियो।

विश्वकपसँग लामुचीको पीडादायी सम्बन्ध यसअघि पनि रहिसकेको थियो। सन् १९९८ को विश्वकपअघि फ्रान्सका प्रशिक्षक एमे ज्याकेले अन्तिम टोलीबाट उनको नाम हटाएका थिए। त्यस वर्ष फ्रान्सले घरेलु मैदानमा पहिलो विश्वकप उपाधि जित्दा लामुसी टोलीबाहिर नै थिए।

पछि उनले फ्रान्सको रेन्न, इंग्ल्यान्डको नटिङ्घम फरेस्ट, कतारका क्लबहरू, कार्डिफ सिटी तथा साउदी अरेबियामा पनि प्रशिक्षण दिएका थिए। अफ्रिका कप अफ नेसन्समा निराशाजनक प्रदर्शनपछि उनलाई यस वर्ष जनवरीमा साढे दुई वर्षको सम्झौतासहित ट्युनिसियाको प्रशिक्षक नियुक्त गरिएको थियो।

प्रकाशित : 16 June, 2026

प्रतिक्रिया दिनुहोस्