बिर्तामोडमा आगलागी हुँदा एकको जलेर मृत्यु लाखौँ क्षति

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, झापाको बिर्तामोडमा बिहीबार बिहान एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने लाखौँ मूल्य बराबरको क्षति भएको छ।

​इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार, रवि राजवंशीले सञ्चालन गर्दै आएको बडी ग्यारेज (ठुला सवारीसाधन मर्मत केन्द्र) को क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी भएको हो।

बिर्तामोड नगरपालिका-२ रामचौकस्थित ध्रुव भट्टराईको जग्गामा राजवंशीले सञ्चालन गरेको टिनको छानो भएको भवनमा बिहान करिब ४ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

​आगलागीबाट क्यान्टिनमा काम गर्दै आएका झापाकै गौरीगन्ज गाउँपालिका-२ का ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको शव जलेको अवस्थामा फेला परेको हो। ​ आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, १ लाख रुपैयाँ नगद र ३ वटा खसीबाख्रा पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

यस्तै ग्यारेजसँगै टाँसिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल-टाइल्सको गोदाममा समेत आगोले जलेको झापा प्रहरीले जनाएको छ।

दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा विहान करिव ४:३० बजे तपर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दमकलबाट आगो निभाउने क्रममा गोदामभित्र राखिएका करिब २० देखि २५ बोरा सिमेन्ट भिजेर करिब २५ हजार रुपैयाँ बराबरको थप क्षति भएको छ।

प्रकाशित : 22 October, 2026

प्रतिक्रिया दिनुहोस्