मधेशमा १३६ स्थानीय तहका प्रयोगशालाकर्मी आन्दोलनमा उत्रे

सहयात्रा टिभी

काठमाडौँ । असार २, प्रदेश सरकार तथा स्थानीय तहको साझेदारीमा मधेश प्रदेशका १ सय ३६ स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा कार्यरत प्रयोगशालाकर्मी आन्दोलनमा उत्रेका छन् ।

लामो समयदेखि तलब तथा सेवा–सुविधा नपाएको भन्दै उनीहरू संयुक्त संघर्ष समिति बनाएर जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालामा धर्ना बसेका हुन् ।

आर्थिक वर्ष २०८२/०८३ को कार्तिक महिनादेखि हालसम्म तलब प्राप्त नभएको, चाडपर्व भत्ता लगायत कानुनबमोजिमका सेवा–सुविधासमेत नपाएको उनीहरूको गुनासो छ ।

चालु आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत कर्मचारीहरूको सेवा सम्झौता तथा म्याद नवीकरण प्रक्रिया टुंगो लाग्न नसकेको गुनासो उनीहरूको छ ।

समस्या समाधानका लागि सम्बन्धित निकायहरूलाई पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएकोले आन्दोलनको बाटो रोज्न बाध्य भएको उनीहरूले बताएका छन् ।

उनीहरूले कात्तिक महिनादेखिको सम्पूर्ण बाँकी तलब तथा चालु आर्थिक वर्षको अन्त्यसम्मको पारिश्रमिक तत्काल भुक्तानी गर्न, सेवा सम्झौता अविलम्ब नवीकरण गर्न तथा चाडपर्व, पोशाक, जोखिम र महँगी भत्ता लगायतका सुविधा उपलब्ध गराउन माग गरेका छन् ।

माग सम्बोधन नभई आन्दोलनका कारण जनस्वास्थ्य सेवा प्रभावित भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायहरूले लिनुपर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।

 

प्रकाशित : 16 June, 2026

प्रतिक्रिया दिनुहोस्