बेलायती प्रधानमन्त्री कीर स्टार्मरले राजीनामा दिने

सहयात्रा टिभी

काठमाडौँ । असार ८, बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले सोमबार आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। लेबर पार्टीभित्रबाट बढ्दो दबाब र पार्टीका सांसदहरूको तीव्र असन्तुष्टिपछि स्टार्मरले यो निर्णय लिएका हुन्।

बीबीसीका अनुसार, आगामी केही साताभित्र लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा पदमा रहिरहनेछन्।

आफ्नो सरकारी निवास १० डाउनिङ स्ट्रिटबाहिर देशवासीलाई सम्बोधन गर्दै स्टार्मरले भने, ‘मैले सधैँ आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर निर्णय लिएको छु। मेरो पार्टीले आगामी चुनावमा नेतृत्व गर्न म उपयुक्त व्यक्ति हुँ कि होइन भनेर प्रश्न गरिरहेको छ, र म त्यसको जवाफ स्वीकार गर्छु। त्यसैले म लेबर पार्टीको नेताको रूपमा राजीनामा दिँदैछु।’

निकै भावुक देखिएका उनले अगाडि थपे, ‘जब म देशको यो सबैभन्दा ठूलो जिम्मेवारी (पद) छाड्नेछु, म मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी एक असल श्रीमान् र बुबा बन्नमा बढी समय बिताउनेछु।’

उनले सोमबार बिहानै राजा चार्ल्सलाई भेटेर आफ्नो राजीनाकाबारे जानकारी गराइसकेका छन्।

दुई वर्षअघि मात्रै (जुलाई २०२४ मा) लेबर पार्टीलाई ऐतिहासिक चुनावी जित दिलाएर सत्तामा आएका स्टार्मरको लोकप्रियता पछिल्लो समय नराम्ररी खस्किएको थियो। अर्थतन्त्र सुधार र जीवनस्तर उकास्ने वाचाहरू पूरा गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको थियो।

गत साता भएको विशेष उपनिर्वाचनमा उनका आन्तरिक प्रतिद्वन्द्वी तथा ग्रेटर म्यानचेस्टरका पूर्व मेयर एन्डी बर्नहमले सानदार जित हासिल गरेपछि स्टार्मरमाथि पद छाड्ने दबाब ह्वात्तै बढेको थियो।

 

प्रकाशित : 22 June, 2026

प्रतिक्रिया दिनुहोस्