फिलिपिन्सको जोसे नेशनल हाइस्कुलमा गोलीकाण्ड ३ विद्यार्थीको मृत्यु
सहयात्रा टिभी
८ असार, काठमाडौं । फिलिपिन्सको मध्यक्षेत्र टाक्लोबानस्थित एक माध्यमिक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा ३ विद्यार्थीको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

प्रहरीले १५ र १४ वर्षका दुई किशोरले विद्यालयभित्र अन्धाधुन्ध गोली चलाएको जनाएको छ ।
घटना स्थानीय समयअनुसार बिहान करिब ९ बजे लेइते प्रान्तको टाक्लोबान सहरस्थित सान जोसे नेशनल हाइस्कुलमा भएको एएफपीले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा विद्यार्थीहरू चिच्याउँदै रोइरहेको तथा गोलीको आवाजबीच कक्षाकोठाभित्र लुकेर ज्यान जोगाउने प्रयास गरिरहेको देखिन्छ । ती भिडियोहरु आफूले प्रमाणित समेत गरेको एएफपी समाचार एजेन्सीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै टाक्लोबान शहरका सुरक्षाकर्मी विद्यालय पुगेका थिए । प्रहरीले क्षेत्रलाई सुरक्षित बनाएर घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाएको थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार घटनामा ७ जना घाइते भएका छन् भने तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका छन् । मृतक र घाइतेहरूको नाम सार्वजनिक गरिएको छैन ।
