सरकारले आश्वासन दिएसँगै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा
सहयात्रा टिभी
काठमाडौँ । असार ११, सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर आश्वासन दिएसँगै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् ।

भारतले चिया निर्यातमा खडा गरेको अवरोधका कारण असार १ र ४ गतेदेखि बन्द भएका झापा र इलामका चिया उद्योगहरू खुल्न थालेका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले निर्यातको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्दै आश्वासन दिएपछि बिहीबारदेखि झापाका ३० वटा सीटीसी चिया उद्योगहरू पुनः सञ्चालनमा आएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिए ।
उनले सरकारले माग सम्बोधन गर्न तदारुकता देखाएपछि उद्योगहरू सञ्चालन गर्ने निर्णय गरिएको बताए ।
झापाका उद्योगहरू सञ्चालनमा आएसँगै पहाडी जिल्लाका चिया उद्योगहरू पनि खुल्ने क्रममा रहेको उपाध्यक्ष गुप्ताले बताए । ‘झापामा खुलिसक्यो, पहाडका पनि खुल्दै छन्,’ उनले भने, ‘आजदेखि वा भोलिदेखि नै खुल्छ ।’
चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाएको छ । उक्त कार्यदललाई दुई हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहितको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
अहिले कार्यदलसँग छलफलका लागि झापा र इलामका चिया उद्योगीहरू काठमाडौंमा छन् । उनीहरूले सरोकारवाला निकायहरूसँग छलफल गरिरहेका छन् ।
