इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

सहयात्रा टिभी

काठमाडौँ । असार १३, फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित निकालेको छ ।

टोरन्टोमा आज बिहान सकिएको खेलमा इराकमाथि ५–० गोल गर्दै सेनेगलले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ । यो जितसँगै अहिलेसम्म सम्पन्न खेलहरुमा तेस्रो स्थानमा रहने टोलीहरुको सूचीमा सेनोगल पाँचौँ स्थानमा उक्लिएको छ । तर नकआउट चरणमा सुरक्षित हुन उसलाई अन्य टोलीको खेलको नतिजा कुर्नुपर्नेछ ।

सेनेगलका पापे गुएले दुई तथा हबिब डियारा, इस्माइला सार, र इलमान न्डियाएले एक–एक गोल गरेका थिए । खेलको चौथो मिनेटमै सेनेगलका हबिबले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ १–० मा सकिएको खेलमा बाँकी ४ गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ५६औँ मिनेटमा इस्माइलाले गोल गर्दै सेनेगललाई २–० गोलको अग्रता दिलाए । यस्तै ५९औँ र ७१औँ मिनेटमा पापेले गोल गरेपछि ४–१ को अग्रता बनाएको सेनेगल ८२औँ मिनेटमा इलमानको गोलसँगै ५–० ले विजयी भयो । खेलको १३ औँ मिनेटमा रेबिन सुलाकाले रातो कार्ड खाएर १० जनामा सीमित भएको इराकले भने कुनै गोल गर्न सकेन ।

यो जितसँगै समूहका तीन खेलबाट ३ अंक जोडेको सेनेगल समूह आई को तेस्रो स्थानमा रहेको छ । तीनवटै खेलमा हार बेहोरेको इराक अंक विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट फ्रान्स शतप्रतिशत जित निकाल्दै समूह विजेता र नर्वे ६ अंकसहित उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

प्रकाशित : 27 June, 2026

प्रतिक्रिया दिनुहोस्