धरानले ३० वर्षपछि नयाँ ‘स्मार्ट बसपार्क’ पायो
सहयात्रा टिभी
काठमाडौँ । असार १४, धरानले ३० वर्षपछि नयाँ ‘स्मार्ट बसपार्क’ पाएको छ । यातायात र सवारीसाधनको चाप बढेर भानुचोकको बसपार्क साँघुरो भएपछि धरानले तीन दशकदेखि बसपार्क निर्माणस्थल खोजी गर्दै आएको थियो ।

अन्ततस् धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना भित्र एक वर्षअघि निर्मित स्मार्ट बसपार्कलाई धरान उमपहानगरपालिका र यातायात व्यावसायीले शनिबारदेखि प्रयोगमा ल्याएका छन् ।
हुनत सुनसरीको दुहवी स्थित एमरएस बिकोइ गिताञ्जली जेभी कम्पनीले पूर्व सम्झौताअनुसार ०८१ असार अन्तिममा नै बसपार्क निर्माण सम्पन्न गरेर धरान उपमहानगरपालिकालाई जिम्मा लगाइसकेको थियो ।
तर तीनकुने बस्ती विकास आयोजना (ल्याण्ड पुलिङ सिस्टम) को पुरानो मद्दामामिला छिनोफानो नहुँदा नयाँ बसपार्क सञ्चालनमा एक वर्ष ढिलाइ भएको थियो ।
बसपार्क निर्माणका लागि ०७८ सालमै सरकारबाट समपुरक कोषमार्फत ५० प्रतिशत बजेट पाउने भएपछि धरान उपमहानगरपालिकाले ५० प्रतिशत थपेर कुल २४ करोड ८६ लाख ९ हजार १४८ रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।
धरान उपमहानगरपालिकाका राजश्व महाशाखा प्रमुख समेत रहेका बसपार्कका फोकल पर्सन खगेन्द्र खतिवडाकाअनुसार उक्त नयाँ बसपार्क निर्माण भएपनि सञ्चालन गर्ने जिम्मा भने इटहरीको सुमन राईको कम्पनी ब्रदर्श ट्रेर्डसलाई ठेक्का दिइएको छ । उनले भने, ‘भ्याटसहित वार्षिक १ करोड २ लाख रुपैयामा ब्रदर्श ट्रेडर्सलाई बसपार्क सञ्चालनको ठेक्का दिइएको छ ।
उपमहानगरपालिकाले समन्वय मात्र गर्ने छ ।’बसपार्कमा १०५ सिट क्षमताको यात्रु प्रतिक्षालय र २५ ओटा टिकट काउण्टर छन् । त्यसबाहेक मिनी मार्ट, एटिएम बुथ, सीसीटीभी क्यामेरा तथा सुरक्षाकर्मी कक्ष, महिला–पुरुषका अपाङ्गतामैत्री सार्वजनिक शौचालयहरु र भाडामा लगाउन सकिने सटरहरु पनि छन् ।
टर्मिनल भवनको पहिलो तलामा १४ वटा व्याबसायिक सटर, स्नान र शौचाालयसहितको १२ वटा लज रुम, रेष्टुरा, कफी हाउस र बसपार्क व्यवस्थापन अफिस छन् ।
पार्किङ स्थलमा एकसाथ ३८ वटा ठूला बस र १८ वटा जिप तथा ल्याण्डरोभर, ट्याक्सी पार्किङ गर्ने क्षमता रहेको श्रेष्ठले बताए ।
कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले उद्घाटन गरेको उक्त बसपार्कको शिलान्यास भने पूर्व कार्यावाहक मेयर मन्जु भण्डारी सुवेदीले गरेकी थिइन् । प्रदेश सरकारले बसपार्क निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिदिएपछि विवादका बसपार्क बीच शिलाल्यास गरिएको थियो ।
बसपार्क निर्माण र सचालनमा आउन थलेपछि नेपाल यातायात व्याबसायी राष्ट्रिय महासंघका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले भने, ‘हाम्रो लागि धरानमा बसपार्क निर्माण हुनु नै ठूलो कुरो हो । भानुचोकको बसपार्क धेरै साँघुरो भएपछि सवारीसाधनको चाप थेग्न सकेको थिएन । यो बसपार्कले कति वर्ष धान्छ भन्दा पनि कसरी सदुपयोग गर्ने भन्नेतिर योजना बनाउदै जानुपर्छ । किनकी अब खाली जग्गा भेटिन्न ।’
भानुचोक बसपार्कमा नअटेर धरान–१५ को वडासमिति कार्यालय परिसरमा सारिएको लामोदुरीका रात्री बसपार्क पनि नयाँ बसपार्कमै सारिएको श्रेष्ठले बताए ।
पहाडी र तराई क्षेत्रबाट आउने गाडीलाई बसपार्क प्रवेशको छुट्टाछुट्टै रुट निर्धारण गरिएको छ ।
उत्तरतिरका पहाडी रुटबाट आएका सवारी साधनहरूले वन–वे प्रणाली अनुसार माछा भौडीबाट–सदन स्कुल–बुढासुब्बा–पिण्डेश्वरी चोक हुँदै बरगाछी–अरुण पेट्रोल पम्प भएर भृकुटीचोकबाट बसपार्क प्रवेश गर्नुपर्ने भएको छ ।
तराईतिर (दक्षिणतिर)बाट आएका सार्वजनिक सवारी साधनले तीनकुनेको सिरिजङ्गा चोक मास्तिरको लाङ्घाली मोडबाट बसपार्क प्रवेश गर्नुपर्ने छ ।
