बाँदर आतङ्क रोक्न जंगलमा फलफूल लगाउने अभियान सुरु

सहयात्रा टिभी

काठमाडौँ । असार २१, पहाडी गाउँघरका किसानका लागि बाँदर आतङ्क पछिल्ला वर्षहरूमा ठूलो चुनौती बनेको छ । वर्षभरिको मिहिनेतले लगाएको मकै, कोदो, धान तथा अन्य बाली पाक्ने बेला बाँदरका हुलले नष्ट गरिदिँदा किसान निराश बन्न बाध्य छन्।

यही समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यसहित तेह्रथुमको लालीगुराँस नगरपालिकाले नयाँ र सिर्जनात्मक अभियान सुरु गरेको छ,जंगलमै फलफूलका बिरुवा रोप्ने अभियान ।

नगरपालिकाले बाँदरको बढी समस्या रहेका तल्लो भेगका सामुदायिक वन क्षेत्रमा आँप, लिची र एभोकाडोका गरी पाँच हजार पाँच सय फलफूलका बिरुवा रोपण गरेको छ । किसानका खेतबारीमा हुने बाँदरको क्षति कम गर्ने, वन क्षेत्रलाई हराभरा बनाउने तथा स्थानीय आम्दानीका नयाँ स्रोत सिर्जना गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो ।

नगर प्रमुख अर्जुन माबोहाङका अनुसार बाँदरले आहाराको खोजीमा खेतीबारी पस्ने क्रम बढेकाले उनीहरूलाई जंगलमै पर्याप्त खाद्य स्रोत उपलब्ध गराउने सोचका साथ अभियान अघि बढाइएको हो । जंगलमा फलफूलका बोट हुर्किएपछि बाँदरले त्यहीँबाट आहारा पाउने र किसानका बालीमा हुने क्षति क्रमशस् घट्ने अपेक्षा गरिएको छ ।

यो अभियान केवल बाँदर नियन्त्रणमा मात्र सीमित छैन । यसले वन संरक्षण, वातावरणीय सन्तुलन र स्थानीय अर्थतन्त्रलाई समेत जोडेको छ । सामुदायिक वन क्षेत्रमा फलफूलका बोटहरू हुर्कँदै गएपछि ती वनहरू उत्पादनमूलक बन्नेछन्। स्थानीय उपभोक्ताले फलफूल संकलन तथा बिक्रीबाट अतिरिक्त आम्दानी गर्न सक्ने सम्भावना पनि बढ्नेछ ।

उता नगरपालिकाले माथिल्लो लेकाली क्षेत्रमा रहेको खाली सार्वजनिक जमिनलाई समेत उपयोगमा ल्याउने प्रयास थालेको छ । चिसो हावापानी भएका क्षेत्रमा मुस्ताङबाट ल्याइएका स्याउका बिरुवा तथा ओखरका बिरुवा रोपिएका छन्। कृषि शाखाका अनुसार सडक पहुँच पुगेका सार्वजनिक जग्गामा एक हजार सात सय त्रिपन्न वटा स्याउ र ओखरका बिरुवा रोपिएको छ ।

लेकाली क्षेत्रमा फलफूल उत्पादन विस्तार गर्ने, वातावरण संरक्षण गर्ने र भविष्यमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यले यो योजना अघि बढाइएको हो। अहिले रोपिएका बिरुवाहरू केही वर्षपछि फल दिन थालेपछि ती क्षेत्रहरू आकर्षक बगैंचामा रूपान्तरण हुने अपेक्षा गरिएको छ । हरियालीले भरिपूर्ण ती बगैंचाहरू स्थानीय तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बन्न सक्ने विश्वास नगरपालिकाको छ ।

नगर प्रमुख माबोहाङका अनुसार फलफूल खेतीलाई कृषि पर्यटनसँग जोड्ने दीर्घकालीन योजना बनाइएको छ । फलफूल उत्पादन बढेसँगै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

जंगलमा रोपिएका साना बिरुवाहरूले भविष्यमा केवल फल मात्र दिने छैनन्, किसानका दुस्ख कम गर्ने, वनलाई जीवन्त बनाउने र ग्रामीण समृद्धिको नयाँ आधार तयार गर्ने आशा पनि पलाएको छ ।

प्रकाशित : 5 July, 2026

प्रतिक्रिया दिनुहोस्