ठोरी छोटी भन्सार सुचारु, भारतीय सवारीलाई निःशुल्क भन्सार पास

सहयात्रा टिभी

काठमाडौँ । असार २४, ठोरीमा भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेश पुनः सुचारु भएको छ । ठोरी छोटी भन्सार सुचारु भएसँगै भारतीय सवारी साधनले निःशुल्क प्रवेश भन्सार पास पाउन थालेका छन् ।


असार १९ गते शुक्रबारदेखि सशस्त्र सीमा सुरक्षा बलले ठोरीमा भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेश बन्द गराएको थियो । यसपछि स्थानीय व्यवसायी तथा सर्वसाधारण आन्दोलित भएका थिए ।

हिजो प्रतिनिधिसभाको बैठकमा पर्सा क्षेत्र नं ४ का सांसद टेकबहादुर शाक्यले ठोरी तथा भिस्वा–जानकीटोलाबाट भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेशमा लगाइएको रोकप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । ठोरीका पर्यटन व्यवसायीको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्रसमेत बुझाएको थियो ।

यो पहलपछि भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेश सहजीकरण गर्ने विषयमा सकारात्मक सहमति भएको हो । भन्सार कार्यालयका प्रतिनिधिका अनुसार भारतीय नम्बर प्लेटका सवारीसाधनले ठोरी छोटी भन्सारबाट निःशुल्क सुविधा पास लिएपछि ठोरी बजार तथा आसपासका पर्यटकीय स्थलहरूको भ्रमण गर्न सक्नेछन् ।

यसैक्रममा, मंगलबार बीआर २२ पीए ०३९२ नम्बरको भारतीय चारपांग्रे सवारीसाधनले पहिलो पटक ठोरी छोटी भन्सारबाट निःशुल्क सुविधा पास लिएर ठोरी बजारमा प्रवेश गरेको छ । यससँगै भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेश व्यवस्था औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ । भारतीय पर्यटकको आवागमन पुनः सुचारु भएसँगै ठोरीको पर्यटन प्रवर्द्धन, स्थानीय व्यापार–व्यवसाय तथा सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिले पुनः गति लिने विश्वास गरिएको छ ।

प्रकाशित : 8 July, 2026

प्रतिक्रिया दिनुहोस्