आत्मदाह प्रयास गर्ने व्यक्तिलाई आईसीयूमा राख्ने तयारी
सहयात्रा टिभी
काठमाडौँ । असार २५, त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्ने तयारी भइरहेको छ ।
प्लास्टिक सर्जन डा। दाहालका अनुसार, बिरामीको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा समेत गम्भीर जलन भएको छ ।
शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको उनले बताए । आकस्मिक कक्षमै आवश्यक प्राथमिक उपचार, औषधि तथा परीक्षणको प्रक्रिया पूरा गरिँदै छ । एनेस्थेसिया टोलीसँग समन्वय गरी उनलाई आईसीयूमा सार्ने तयारी भइरहेको दाहालले जानकारी दिए ।
उनका अनुसार बिरामीले सामान्य रूपमा बोल्न सक्ने अवस्था भए पनि स्वास्थ्य अवस्था अझै संकटपूर्ण छ । जलनका कारण हुने सम्भावित जटिलतालाई मध्यनजर गर्दै चिकित्सकहरूको निगरानीमा सघन उपचार सुरु गरिएको छ।
चिकित्सकका अनुसार शरीरको ठूलो भाग जलेका बिरामीमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी तथा अन्य अंगमा असर पर्ने जोखिम उच्च हुने भएकाले प्रारम्भिक २४ देखि ७२ घण्टा अत्यन्त संवेदनशील मानिन्छ ।
