भृकुटीमण्डपमा सुरु भयो नाडाअटो शो २०२६
सहयात्रा टिभी
काठमाडौँ । भदौ ९ ,नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारीसाधनलाई समेत प्राथमिकतामा राख्दै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औँ संस्करणको अटो शोको उपराष्ट्रपति रामसाय यादवले उद्घाटन गरे ।
दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डको सहभागिता रहेको छ। ती ब्रान्डले डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
यसपटकको अटो शोको मुख्य आकर्षणमध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ पनि रहेको छ ।
नेपाली कम्पनीले उत्पादन गरेको सवारीसाधनलाई अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसँगै एउटै प्रदर्शनीमा राखिनुले नेपाली अटोमोबाइल उद्योगको बदलिँदो अवस्थालाई समेत देखाउने आयोजकको भनाइ छ ।
नाडाले आफ्नो ५० औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको यसपटकको प्रदर्शनीमा विदेशी ब्रान्डका सवारी मात्र नभई नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारी तथा अटोमोबाइल सामग्रीलाई छुट्टै प्राथमिकता दिइएको छ ।
प्रदर्शनीस्थलमा ‘मेड इन नेपालरमेड फर नेपाल’ प्याभिलियन राखिएको छ । उक्त प्याभिलियनमा नेपालमा उत्पादन वा एसेम्बल भएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ । नाडाका अनुसार करिब आठ नेपाली उत्पादक यस क्षेत्रमा सहभागी छन् ।
त्यहाँ विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेटलगायतका सामग्री उत्पादन गर्ने नेपाली कम्पनीको सहभागिता छ ।
यात्रीसँगै एसियन वायरिङ, कोहिनुर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका नेपाली उत्पादकले आफ्नो उत्पादन प्रदर्शन गर्नेछन् ।
नाडाले नेपाली उत्पादनलाई छुट्टै स्थान दिएर प्रदर्शन गर्नुको उद्देश्य नेपालमा अटोमोबाइल क्षेत्रमा भइरहेको उत्पादन तथा औद्योगिक गतिविधिलाई उपभोक्तासम्म पुर्याउनु पनि रहेको जनाएको छ ।
यसपटकको अटो शोमा ठूलो संख्यामा विदेशी ब्रान्डका नयाँ मोडलसँगै नेपाली उत्पादनलाई समेत एउटै मञ्चमा राखिएकाले नेपालको अटो बजार आयातमा मात्र निर्भर बजारबाट उत्पादनतर्फ पनि अघि बढिरहेको संकेतका रूपमा यसलाई हेरिएको छ ।

