केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना
सहयात्रा टिभी
काठमाडौँ । असोज २२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भूभागमा तथा कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँ तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागको थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्ग र असिना सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
मधेस लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
