छठआउन अब तीन दिन बाँकी रहँदा घाट सजाउने काम तीव्र
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २७, छठ पर्व आउन अब तीन दिन मात्रै बाँकी रहँदा सिरहाका विभिन्न नदी, खोला, तलाउ तथा पोखरीका किनारमा सरसफाइ र छठघाट सजाउने काम तीव्र बनेको छ।

पर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउने तयारीस्वरूप स्थानीयवासी, युवा तथा श्रद्धालु भक्तजनहरू घाट व्यवस्थापनमा जुटेका छन्।
सिरहाको गोलबजार, चोहर्वा, निपनिया, नरहालगायतका क्षेत्रमा छठघाट सरसफाइ र सजावटको काम भइरहेको छ। निपनिया पोखरी, मैनाबती खोला तथा चोहर्वा पोखरीलगायतका जलासय आसपासका क्षेत्रमा स्थानीयहरू श्रमदानमार्फत घाट सफा गर्ने, झारपात हटाउने, बाटोघाटो मर्मत गर्ने तथा पूजास्थल व्यवस्थित बनाउने काममा सक्रिय भएका छन्।
कतै कोदालो, खुर्पी, हँसियालगायतका सामग्री प्रयोग गरेर सरसफाइ भइरहेको छ भने कतै जेसीबीको सहायताले घाट सम्याउने काम भइरहेको छ। विभिन्न स्थानमा टेन्ट, पण्डाल तथा सजावटका सामग्री राखेर छठघाटलाई आकर्षक बनाउने तयारीसमेत भइरहेको छ।
सूर्यदेव र छठी माताको उपासनासँग जोडिएको यस पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ। छठपर्वमा नदी, पोखरी तथा जलासयका किनारमा भेला भएर श्रद्धालुहरूले विधिपूर्वक पूजा गर्ने गर्छन्।
पर्व नजिकिँदै जाँदा सिरहाका गाउँदेखि शहरसम्म छठको रौनक बढ्दै गएको छ। स्थानीयको सामूहिक प्रयास र श्रमदानले छठघाटहरू सफा, सुन्दर र व्यवस्थित बन्दै गएका छन्।
