फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ गरिँदै
सहयात्रा टिभी
काठमाडौं । मंसिर २, तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सुरुङको आज ‘ब्रेक थ्रु’ हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा उक्त सुरुङको ‘ब्रेक थ्रु’ गर्न लागिएको हो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले दिएको जानकारीअनुसार कार्यक्रमका लागि राष्ट्रपति पौडेल साढे ९ बजे हेलिकप्टरमार्फत महादेवटार आइपुग्ने तय भएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ बाट बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माणाधीन अवस्थामा छन्। तीमध्ये आज ‘ब्रेक थ्रु’ हुन लागेको सुरुङको लम्बाइ ३.४४५ किलोमिटर रहेको छ। यसअघि अर्कोतर्फको ३.४८६ किलोमिटर लामो सुरुङको गत भदौमै ‘ब्रेक थ्रु’ भइसकेको छ।
हाल फास्ट ट्र्याकअन्तर्गत ७ वटा सुरुङ निर्माणाधीन छन्। नेपाली सेनाले यस द्रुतमार्गलाई १३ वटा प्याकेजमा विभाजन गरी कार्यान्वयन गरिरहेको छ। जसमध्ये प्याकेज १, २, ३, ४, ५, ६, ७, ८ (क), ८ (ख), ९ (क), ९ (ख) र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका छन्।
