इजरायली हवाई आक्रमणमा हमासका आन्तरिक सुरक्षा प्रमुखको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । मंसिर ९, गाजामा भएको इजरायली हवाई आक्रमणमा हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख नइम अबु नहलको मृत्यु भएको छ । बीबीसी उर्दूका अनुसार हमासद्वारा सञ्चालित गाजाको आन्तरिक मन्त्रालयले गाजाको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा ५० वर्षीय नहल मारिएको जनाएको छ ।

नहललाई यसै वर्ष सेप्टेम्बरमा आन्तरिक सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो । उनका पूर्ववर्तीलाई इजरायली सेनाको विशेष बलले सैन्य कारबाहीका क्रममा पक्राउ गरेपछि उनलाई पदमा नियुक्त गरिएको थियो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले पनि सैन्य कारबाहीमा नहल मारिएको पुष्टि गरेका छन् । यसअघि मंगलबार गाजामा भएका अन्य दुई इजरायली हवाई आक्रमणमा थप ६ जनाको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्मी तथा स्वास्थ्य अधिकारीहरूले बताएका थिए ।
अधिकारीहरूका अनुसार गाजाको दक्षिणमा रहेको वादी गाजामा भएको आक्रमणमा एक युवकसहित तीन जनाको मृत्यु भएको थियो । त्यस्तै, खान युनिसको पश्चिममा रहेको अल(मवासी क्षेत्रको प्रहरी चौकीमा भएको अर्को आक्रमणमा दुई प्रहरीसहित तीन जनाले ज्यान गुमाएका थिए ।
हमासको आन्तरिक मन्त्रालयअन्तर्गत रहेको गाजा प्रहरीले प्रहरी चौकीमाथिको आक्रमणको निन्दा गरेको छ । उसले यसलाई क्षेत्रमा अराजकता फैलाउने उद्देश्यले प्रहरी संस्थालाई लक्षित गरी भइरहेको अभियानको हिस्सा भनेको छ । यता इजरायली सेनाले भने क्षेत्रमा रहेका ‘आतंकवादी’लाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ ।
