बाँकेमा जीत दोहोर्‍याउने दाऊ

सहयात्रा टिभी

बाँके । अहिलेसम्म दोहोर्‍याएर चुनाव जितेका नेता कम भएको बाँकेमा आसन्न चुनावमा पार्टीको जीत दोहोर्‍याउन दलहरुले रणनीति बनाइरहेका छन् ।

२०६४ सालको पहिलो संविधानसभा चुनावमा बाँकेमा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गर्दै मधेसी जनअधिकार फोरमका जिल्ला अध्यक्ष सर्वदेबप्रसाद ओझा विजयी भए । उनले १४ हजार ९ सय मत पाएका थिए । तर २०७० सालको चुनाव त्यस्तो रहेन । ६ वर्ष पहिले तेस्रो भएका सुशील कोइरालाले बाँके क्षेत्र नम्बर २ मा चुनाव जिते । अघिल्लो चुनाव जितेका ओझाले मात्र ७७ मत पाए । टिकट नपाएपछि ओझाले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।

बाँकेमा अहिलेसम्म कुनै पनि उम्मेद्वारले दोहोर्‍याएर चुनाव जितेका अवस्था छैन । २०४८ सालको चुनावमा बाँकेका तीन वटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका थिए । तर तीन वर्षपछि भएको चुनावमा कांग्रेसले आफ्नो जीत जोगाउन सकेन । २०५१ सालको चुनावमा तीन वटै क्षेत्रमा राप्रपा विजयी भयो । २०७० सालको चुनावमा एक क्षेत्रमा कांग्रेस विजयी भए पनि अरु क्षेत्रमा नेकपा एमालेका उम्मेद्वार विजयी भए ।

यस पटकको चुनावमा बाँकेमा प्रतिनिधिसभाका लागि ३ वटा निर्वाचन क्षेत्र कायम छ । क्षेत्र नम्बर १ मा १० जना उम्मेद्वार भए पनि माओवादी केन्द्रका सचिवालय सदस्य महेश्वरजंग गहतराज र कांग्रेसका माधवराम खत्रीबिच मुख्य प्रतिष्पर्धा छ । क्षेत्रीय निर्वाचन कार्यालय नेपालगञ्जका अनुसार बाँकेमा दुई लाख ७६ हजार ७१८ मतदाता छन् । सबैभन्दा बढी क्षेत्र नम्बर १ मा ९८ हजार ३२० मतदाता छन् । स्थानीय तहको चुनावमा प्राप्त मतको आधारमा बाम गठबन्धन अगाडि देखिएको छ । क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका र राप्ती–सोनारी तथा नरैनापुर गाउँपालिका पर्दछन् ।

क्षेत्र नम्बर १ मा कांग्रेस, राप्रपा र लोकतान्त्रिक फोरमले प्राप्त गरेको मत २६ हजार १४४ रहेको छ । एमाले र माओवादीले प्राप्त गरेको मत जोड्दा ५ हजार बढी अर्थात ३१ हजार २३५ रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समावेश रहेको क्षेत्र नम्बर २ मा ८२ हजार ९४९ मतदाता रहेका छन् । यस क्षेत्रमा १७ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै क्षेत्र नम्बर ३ का ३ जना उम्मेद्वार पहिले राप्रपामा क्रियाशिल रहेका थिए । ८ जनाको उम्मेद्वारी परेको क्षेत्र नं ३ मा ९५ हजार ४४९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्