गोरखाका मतपेटिका हवाईजहाजबाट ल्याइयो सदरमुकाम

सहयात्रा टिभी

गोरखा । उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाअन्तर्गत २८ वटा मतदान केन्द्रका मतपेटिका सोमबार सदरमुकाम ल्याइएको छ ।
नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट मतपेटिका र निर्वाचन अधिकृतसहित कर्मचारी सदरमुकाम ल्याइएको हो ।

मतपेटिका लिन लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका गोरखा सभापति हरिबहादुर घले, वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता चूँडामणि खड्का, सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्मालगायतको टोली उत्तरी गोरखा पुगेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

यसअघि निर्वाचन गराउन मतदानका लागि आवश्यक सामग्री र मतदान अधिकृतलाई हेलिकप्टरबाट उत्तरी गोरखा पठाइएको थियो । गोरखामा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा मतदानमा ६२ प्रतिशत मत खसेको अनुमान छ । स्थानीय तह निर्वाचनमा यहाँ ७२ प्रतिशत मत खसेको थियो । चुमनुब्रीका विभिन्न २० वटा र धार्चे गाउँपालिकाका आठ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरी सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले जानकारी दिएका छन् । सडकमार्ग र हवाईमार्गबाट ल्याइएका मतपेटिका सुरक्षित तवरले भण्डारण गरिएको जनाइएको छ ।

मंसिर २१ गतेदेखि मतगणना शुरु हुने जनाइएको छ । लोकतान्त्रिक गठबन्धनबाट नयाँशक्ति पार्टीका डा. बाबुराम भट्टराई र वाम गठबन्धनबाट माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ एक–अर्काका प्रतिष्पर्धी भएका कारण पनि गोरखाको चुनावलाई चासोका साथ हेरिंदै आएको छ । विगतमा एउटै पार्टीमा रहेर काम गरेको श्रेष्ठ र भट्टराईको नतिजा कसको पक्षमा जाला भन्ने सिङ्गो देशबासीमा कौतुहलता छ ।

प्रकाशित : 27 November, 2017

प्रतिक्रिया दिनुहोस्