नेपालले अक्सिजन धेरै उत्पादन गर्ने काम गरिरहेको छ : अर्थमन्त्री महत

काठमाडौँ । मंसिर ५, अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्ने काम गरिरहेको बताउनुभएको छ ।
आज मङ्गलवार काठमाण्डौमा भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न नेपालले ४५ प्रतिशत वनरजङ्गल बनाएको विषयलाई विश्वले प्रशंसा गर्नुपर्ने बताउनुभयो ।
नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्नका लागि ४५ प्रतिशत भू–भाग जङ्गलका रूपमा स्थापित गरिरहेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘नेपालले ४५ प्रतिशत जमिनमा जङ्गल स्थापित गरिसकेको छ । सन् १९९० देखि ३० प्रतिशत रहेकोमा अहिले ४५ प्रतिशत पुर्याएका छौँ ।
नेपालमा अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्ने काम गरिरहेको छ । यसलाई विश्वले प्रशंसा गर्नुपर्छ । नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताउनुभएको छ ।
अहिले नेपालको जलवायुसम्बन्धी चुनौती भनेको कार्बन उत्सर्जन शून्य बनाउन सक्छ कि सक्दैन भन्ने होइन । नेपालले त्यो गर्छ । नेपालले कामबाट नै बताइसकेको छ ।’
अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न गाडीसमेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गर्नुभयो । उहाँले सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शङ्का नराख्न आग्रह गर्नुभयो
। नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या कार्बन उत्सर्जन शून्य बनाउँदैमा मुक्त नहुने भन्दै उहाँले अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताउनुभयो ।
विकसित देशले गरेको कार्बन उत्सर्जनबाट नेपालका हिमालको हिउँ पग्लिरहेको भन्दै उहाँले जलवायु परिवर्तनबाट परेको असर न्यूनीकरण गर्नका लागि विकसित देशले नेपाललाई आर्थिक सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।