एन्फामा सीईओ नियुक्तिसहितका निर्णय खारेजीको असन्तुष्ट समूहद्धारा माग
काठमाडौं । पुस ३, अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित असन्तुष्ट ९ जनाले हिजो सोमबारको केन्द्रीय कार्यसमिति बैठकबाट भएका निर्णय खारेजीको माग गरेका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर एन्फाको असन्तुष्ट समूहले इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्ति गर्नेसहितका निर्णय खारेजीको माग गरेको हो ।
सीईओ खुला प्रतिस्पर्धाबाट ल्याउनुपर्ने कर्मचारी नियमावलीमा स्पष्ट व्यवस्था भए पनि महासचिवले किरण राईले आफूखुसी सीईओ नियुक्ती गरेको खड्काको आरोप छ ।
उनले नियुक्तिका बारेमा खेलकुद परिषद् र खेलकुद मन्त्रालय उजुरी दिने र त्यहाँबाट पनि सम्बोधन नभए अदालत जाने चेतावनी दिएका छन् ।
यस्तै असन्तुष्ट समूहले मध्यपुर युथ एसोसियसनमाथिको निलम्बन फुकुवा गर्नु पर्ने माग पनि गरेको छ ।
सोमबारको बैठकले विधान विपरीत कार्य गरेको भन्दै अर्को निर्णय नभएसम्म मध्यपुरलाई फुटबलका गतिविधिमा सहभागी हुन नदिने निर्णय गरेको थियो ।
पत्रकारसम्मेनल गर्नेमा खड्कासहित, उपाध्यक्षहरु विराटजंग शाही र दीर्घबहादुर केसी तथा सदस्यहरू पेमा डोल्मा लामा, रमेश व्यञ्जनकार, अनिल मल्ल, भोजराज शाही, रविन्द्र चन्द र रुपेश अधिकारी छन् ।