अन्तर्राष्ट्रिय विमानस्थलको ‘ड्युटी फ्री’ आरजुकी बहिनीलाई सुम्पने तयारी

काठमाडौं । पुस ४, कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी तथा सांसद आरजु राणा देउवाकी बहिनीसमेतको नाममा रहेको कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा राख्न लागिएको करमुक्त पसल (ड्युटी फ्री) सुम्पन सरकारी निकायले नै ‘जालझेल’ गरेको पाइएको छ ।
आरजु राणाकी बहिनीसमेतको नाममा रहेको तथा परिवारकै सदस्य सक्रिय रहेको एक कम्पनीलाई मात्रै लाइसेन्स उपलब्ध गराएर त्यहीअनुसार नागरिक उड्ययन प्राधिकरणबाट प्रतिस्पर्धाका लागि आह्वान गराइएको पाइएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले मंसिर ४ गते सार्वजनिक गरेको बोलपत्र आह्वानको सूचनामा भनिएको छ, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रस्थानतर्फको पहिलो तलामा २६.११ तथा आगमनतर्फ अध्यागमन नजिकै कार्यालयबाट तोकिदिएको ७५.८ वर्गमिटर गरी जम्मा १०१.९ वर्गमिटर क्षेत्रफलमा करमुक्त पसल (ड्युटी फ्री शप) सञ्चालनका लागि खुला प्रतिस्पर्धाको माध्यमबाट ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकाले नेपाल सरकारको सम्बन्धित निकायबाट करमुक्त पसल सञ्चालन गर्ने र वन्डेड वेयर हाउसको इजाजत प्राप्त गरेका इच्छुक व्यक्तिरफर्मरसंस्थार कम्पनीले देहायका शर्तहरुको अधीनमा रही बोलपत्र फाराम पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”
बोलपत्र आह्वान भएको ३० दिनभित्र एघार हजार तीन सय रुपैयाँ मूल्य अभिवृद्धि करसहित बोलपत्र फारम खरिद गर्न सकिने सूचनामा उल्लेख छ ।
प्राधिकरणले सार्वजनिक गरेको उक्त सूचनाअनुसार वन्डेड वेयर हाउसको लाइसेन्स भएका कम्पनीमात्रै प्रतिष्पर्धामा सहभागी हुन पाउनेछन् ।
तर वन्डेड वेयर हाउसको लाइसेन्स भएको एउटा मात्रै कम्पनी ‘ग्रिन लाइन इन्टरनेशनल प्रा।लि।’ नवीकरण गरिएको छ । उक्त कम्पनीमा रवीन जोशी, रुकमलता राणा र अभिलासा राणा सेयरधनी छन् ।
अभिलासा आरजुकी बहिनी हुन् भने रुकमलता पनि उनीहरूकै परिवार भएको स्रोत बताउँछ ।
आरजु राणाले संसद् सचिवालयमा बुझाएको आफ्नो विवरणमा पिताको नाम विनोद शमशेर जबरा उल्लेख गरेकी छन् । अभिलासा राणाको बाबुको नाम पनि विनोद शमशेर उल्लेख छ । एकजना आफन्तले पनि अभिलासा र आरजु दिदीबहिनी भएको बताए ।
उक्त कम्पनीमा अभिलासाको नाममा ३६ हजार कित्ता सेयर छ ।