एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको प्राधिकरणद्धारा पूष्टि

सहयात्रा टिभी

काठमाडौँ । पुस १२, नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको पूष्टि गरेकोछ ।

सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो ।

जसमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्त पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु पर्ने कानुनी प्रावधान पूरा नभएको उल्लेख छ ।

नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली २०७६ को विनियम ४ (क) बमोजिम समेत आफ्ना सेयर धनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको अनुमति वा स्वीकृति लिनुपर्ने उल्लेख छ ।

यो कानुनको परिपालना नभएको अवस्थामा प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार कारवाही प्रक्रिया अगाडि बढाउन सक्ने समेत प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणले लेखा समितिमा बताए अनुसार मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको भनी खरिद बिक्री सम्झौता र प्रेस विज्ञप्तिमार्फत गराएको जानकारीबारे आधिकारिक विवरण उपलब्ध गराउन १५ र २५ मंसिरमा पत्र लेखिएको छ । त्यसको आधिकारिक कागजात प्राप्त नभएको समेत प्राधिकरणले जनाएको छ ।

यस कारोबारको वास्तविक सेयर खरिद मूल्यको जानकारी सेयर खरिद सम्झौताबाट स्पष्ट हुन सक्ने भएकाले सो को प्राप्ती पश्चात यकिन हुन सक्ने जानकारी समेत प्राधिकरणले लेखा समितिलाई गराएको छ ।

सेयर खरिद सम्झौतामा उल्लेखित रकम सन्देहात्मक देखिएमा कम्पनीको डीडीए गरी यथार्थ जानकारी लिइने समेत प्राधिकरणले जनाएको छ ।

 

 

प्रकाशित : 28 December, 2023

प्रतिक्रिया दिनुहोस्